काठमाडौं। क्यामेराजडित चस्मा ९स्मार्ट ग्लास० प्रयोग गरी खिचिएका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि प्रतिनिधिसभा सदस्य आशिका तामाङ विवादमा परेकी छन्।
उनको गतिविधिले नागरिकको व्यक्तिगत गोपनीयताको अधिकार र कानुनी सीमाबारे बहस सिर्जना गरेको छ। गत कात्तिक ६ गते तामाङले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा सार्वजनिक गरेको एक भिडियोमा खोलानजिकै बसेका बालकले हातमा समातेको भ्यागुता उनले लिएर खोलामा फालिदिएको देखिन्छ। त्यसपछि उनले बालकलाई ललिपप दिएर त्यहाँबाट हिँडेकी छन्।
सामाजिक सञ्जालमा सार्वजनिक उक्त भिडियोमा धेरै प्रयोगकर्ताले प्रतिक्रिया जनाउँदै बालबालिकाको गोपनीयताको सम्मान गर्नुपर्ने बताएका छन्। केहीले बालबालिकाको गतिविधिलाई सामाजिक सञ्जालमा सामग्रीका रूपमा प्रस्तुत गर्नु उचित नभएको भन्दै तामाङको आलोचना गरेका छन्। सार्वजनिक पदमा रहेकी जनप्रतिनिधिले नागरिकसँग सम्बन्धित दृश्य खिचेर सार्वजनिक गर्दा व्यक्तिगत गोपनीयताको अधिकारलाई ध्यान दिनुपर्ने भन्दै अधिकारकर्मी तथा सर्वसाधारणले प्रश्न उठाएका छन्। विशेषगरी बालबालिकाको तस्बिर वा भिडियो सार्वजनिक गर्दा उनीहरूको हित, पहिचान र गोपनीयताको संरक्षण गर्नुपर्ने विषयमा बहस केन्द्रित भएको छ।
बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकाको तस्बिर तथा व्यक्तिगत विवरण सार्वजनिक गर्ने विषयमा कानुनी व्यवस्था गरेको छ। बालबालिकाको अनुमति तथा आवश्यक सहमतिबिना उनीहरूको तस्बिर वा भिडियो सार्वजनिक गर्दा कानुनी प्रश्न उठ्न सक्ने भएकाले यस्तो कार्यमा संवेदनशीलता अपनाउनुपर्ने जानकारहरूको धारणा छ। तामाङले भने आफूले जनचेतना फैलाउने उद्देश्यले यस्तो गतिविधि गरेको बताएकी छन्। आलोचना भएपछि उनले एक बालिकाको अनुहार ब्लर गरेर सार्वजनिक गरे पनि सार्वजनिक व्यक्तित्वले आफ्नो व्यवहारमा थप जिम्मेवारी देखाउनुपर्ने आवाज उठेको छ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सार्वजनिक स्थानमा खिचिएका तस्बिर तथा भिडियो प्रकाशन गर्दा व्यक्तिको गोपनीयता र सहमतिको विषय महत्त्वपूर्ण बन्दै गएको छ। जनप्रतिनिधिले कानुन निर्माण र कार्यान्वयनमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने भएकाले उनीहरूबाट हुने गतिविधिमा थप संवेदनशीलता र जवाफदेहिता अपेक्षा गरिन्छ। यस घटनाले सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्ने स्वतन्त्रता र नागरिकको गोपनीयताको अधिकारबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकतालाई पुनः चर्चामा ल्याएको छ।








