नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टीको उद्देश्य लोकतन्त्रको हितमा सहकार्य गर्दै अगाडि बढ्ने भएकाले प्रधानमन्त्रीकै लागि आफूले मरिहत्ते नगरेको बताएका छन्।
बुधबार समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘अहिले लोकतन्त्र समाप्त पार्न खोज्ने शक्ति सक्रिय भइरहेका छन्। समाजवादी पार्टीको उद्देश्य भनेकै लोकतन्त्रको हितमा सहकार्य गर्दै अगाडि बढ्नु हो। त्यसैले प्रधानमन्त्रीकै लागि मरिहत्ते गरिन्।’
अध्यक्ष नेपालले केही वर्षदेखि थला परेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भएर लाग्नुको विकल्प नभएको पनि बताए। उनले भने ‘राजनीतिक स्थिरता, परिवर्तन र सुशासनसँग जोडिएको अर्थतन्त्र बलियो बनाउन सकेनौँ भने लोकतन्त्र नै कमजोर भएर जान्छ।’
उनले लोकतन्त्र समाप्त पार्न खोज्ने शक्ति सक्रिय भइरहेको अवस्थामा प्रधानमन्त्रीले अर्थतन्त्र बलियो बनाएर जनताको आयस्रोत वृद्धि गर्न जोड दिनुपर्ने बताए। यसका लागि प्रधानमन्त्रीले अर्थतन्त्रका विज्ञ र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल तथा राय सुझाव लिएर अगाडि बढ्नुपर्ने उनकाे सुझाव थियाे।
‘राजनीतिक स्थिरताका लागि सरकारले मुलुकका देखिएका प्रमुख समस्या पहिचान गरी जनतामा परिवर्तनको महसुस दिलाउन सक्नुपर्छ’, नेता नेपालले भने, ‘प्रतिगामी शक्तिहरु अझै पनि जीवितै रहेकाले उनीहरुलाई परास्त गर्दै अगाडि बढ्नु पर्छ।’
एकीकृत समाजवादी पार्टीको दशौँ महाअधिवेशन असारको पहिलो हप्ता काठमाडौँमा हुने जानकारी दिँदै उनले महाधिवेशन तयारीका लागि २७ सदस्यीय मस्यौदा समितिसमेत गठन गरिएको सुनाए।
महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक, समाजवाद र पार्टी विधानसम्बन्धी मूल विषय बनाएर छलफल हुने पनि सो अवसरमा उनले जानकारी दिए। बाहिर चलेको हल्ला झैँ समाजवादी पार्टी फुट्ने कुनै सम्भावना नरहेको उनकाे दाबी थियाे।








