दिलीप कंडेल । सुर्खेतको चौकुने गाउँपालिकामा करदाता सम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध हुने भएको छ। आन्तरिक राजस्व कार्यालय सुर्खेतबाट प्रदान हुँदै आएका प्यान (PAN) नम्बर वितरण, कर संकलन तथा करदातासम्बन्धी प्रशासनिक सेवाहरू गाउँपालिकाबाटै उपलब्ध गराउने गरी सेवा हस्तान्तरण गरिएको हो।

२०८३ कात्तिक १० गते आयोजित विशेष समारोहका बीच उक्त सेवा औपचारिक रूपमा चौकुने गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष खडक बिबस बासपाने, प्रमुख प्रशासकीय अधिकृत दामोदर ज्ञावली, विभिन्न वडाका वडा अध्यक्षहरू तथा गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
यससँगै सुर्खेत जिल्लामा स्थानीय तहमार्फत आन्तरिक राजस्वसम्बन्धी सेवा प्रदान गर्ने पहिलो गाउँपालिकाका रूपमा चौकुने स्थापित भएको जनाइएको छ। यसअघि प्यान नम्बर लिन, कर बुझाउन तथा करसम्बन्धी सामान्य प्रशासनिक कामका लागि समेत चौकुनेका नागरिक तथा व्यवसायीहरू सदरमुकाम वीरेन्द्रनगर पुग्नुपर्ने बाध्यता थियो। लामो दूरीको यात्रा, समय र खर्चका कारण सेवाग्राहीले विभिन्न समस्या भोग्दै आएका थिए। अब गाउँपालिकाबाटै उक्त सेवा उपलब्ध हुने भएपछि स्थानीय नागरिक तथा व्यवसायीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
गाउँपालिकामै करदाता सेवा सुरु हुनु स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि मानिएको छ। यसले नागरिकलाई घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने अवधारणालाई व्यवहारमा उतार्नुका साथै स्थानीय व्यवसाय, व्यापार तथा आर्थिक गतिविधिलाई समेत प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
चौकुने गाउँपालिकालाई सुर्खेत जिल्लाकै अग्रणी र नमुना स्थानीय तहका रूपमा विकास गर्ने लक्ष्यसहित सुरु गरिएको यस पहलले स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। करसम्बन्धी सेवा लिन टाढा जानुपर्ने बाध्यता हट्दा नागरिकको समय र खर्च बचत हुनुका साथै सेवा प्रवाह थप सहज, सरल र नागरिकमैत्री बन्ने विश्वास गरिएको छ।
यस ऐतिहासिक कार्यलाई सफल बनाउन सहयोग गर्ने आन्तरिक राजस्व कार्यालय सुर्खेत, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण चौकुनेवासीप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ। गाउँकै सरकार, गाउँकै सेवा, समृद्ध चौकुने, हाम्रो अभियानु भन्ने भावनालाई आत्मसात् गर्दै चौकुने गाउँपालिकाले नागरिकलाई स्थानीय तहमै सहज र प्रभावकारी सेवा उपलब्ध गराउने दिशामा महत्त्वपूर्ण कदम चालेको छ।








