२०८३ असार ३२ , बिहीबार

फर्जी योजना बनाएर विद्यालयको रकम हिनामिना, चार जनाविरुद्ध अख्तियारको मुद्दा



विद्यालयमा पुस्तकालय र खानेपानीका लागि आएको रकम मिलेमतोमा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।

संखुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङको शारदा माध्यमिक विद्यालयको रकम हिनामिना भएको भन्दै अख्तियारले विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो।

अख्तियारको अभियोजनमा पर्नेहरूमा विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराई, तत्कालीन विव्यस अध्यक्ष गोपालकुमार अधिकारी, तत्कालीन शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेस चैनपुर, संखुवासभाका सञ्चालक केशवकुमार शाक्य छन्।

कागजी मिलाएर हिनामिना

आर्थिक वर्ष २०७४/७५ मा शिक्षा विभागले पुस्तकालय व्यवस्थापनका लागि भनेर झण्डै पाँच लाख रुपैयाँ अनुदान बजेट विनियोजन भएको थियो। फर्जी बिलभर्पाई मिलाएर तत्कालीन जिल्ला शिक्षा कार्यालयको निर्णय बमोजिम रूपान्तरित जिल्ला शिक्षा विकास समन्वय इकाईबाट उक्त रकम निकासा लिएर हिनामिना गरेको अख्तियारको निष्कर्ष छ।

उक्त योजनाको अख्तियारका अनुसार ४ लाख ६० हजार ४५५ रुपैयाँ रकम विद्यालयको खातामा भुक्तानी हुन आएको थियो। तत्कालीन प्रधानाध्यापक भट्टराईले शाक्य अफसेट प्रेसका सञ्चालक शाक्यसँग मिलेमतो गरेर पुस्तक नै खरिद नगरी फर्जी बिलभर्पाई बनाएर भुक्तानी लिएको अख्तियारले भेट्टाएको छ।

यस्तै सम्झौताअघि नै विद्यालयमा खरिद भएको ल्यापटपको बिलसमेत संलग्न राखेर पुस्तकालयका लागि आएको रकम हिनामिना गरेको अख्तियारले जनाएको छ।

यस्तै आव ०७५/७६ मा १ नम्बर प्रदेशको सामाजिक सुरक्षा मन्त्रालयबाट विद्यालयमा खानेपानी व्यवस्थापनका लागि आएको रकम पनि कुनै काम नै नगरी भुक्तानी लिएर हिनामिना गरेको अख्तियारको अनुसन्धानमा पाइएको छ।

उक्त अनुदान रकम कार्यान्वयनका लागि विव्यस अध्यक्ष गोपालकुमार अधिकारीले शिक्षा विकास तथा समन्वय इकाईसँग सम्झौता गरेका थिए। जुन रकम तीन लाख ४३ हजार थियो।

उक्त रकम काम नै नगरेर फर्जी कागजात तयार गरेर विद्यालयको खातामा रकम भुक्तानी लिइएको थियो। विद्यालयको खाताबाट प्रधानाध्यापक भट्टराई र शिक्षक मण्डलको दस्तखतमा चेक साटेर सरकारी रकम हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

सोहीअनुसार अख्तियारले चारैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरूप सजायको माग दाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

प्रकाशित मिति : २०८१ जेठ ३० गते बुधबार