२०८३ असार ३२ , बिहीबार

नेपालको पहिलो ‘वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स’ सम्पन्न



नेपालले विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसिसि) सम्पन्न गरेको छ । नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा उक्त सम्मेलन गरिएको थियो ।

डब्लुएमसिसिले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्व सम्बन्धी महत्वपूर्ण मुद्दाहरूको समाधानको लागि सरकारी कर्मचारीहरू, उद्योग व्यवसायीहरु, वातावरणविद् र नागरिक अगुवाहरूलाई एकसाथ ल्याएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले वृक्षारोपण गरी गरेका थिए । उद्घाटन समारोहमा ‘एबिसी फर क्लाइमेट चेन्ज’ पुस्तकको विमोचन पनि गरिएको थियो । सम्मेलनको समापनमा भने वातावरण तथा वनमन्त्री नवलकिशोर साह सुडीले मन्त्रालयले जलवायु चुनौतीका लागि चालेका आवश्यक पहलका बारेमा जानकारी दिएका थिए ।

कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले भने, ‘वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपालको लागि एक कोशेढुङ्गा हो । यस सम्मेलनले हामीले सामना गर्नुपरेको वातावरणीय चुनौतीहरूको दिगो समाधानहरू खोज्ने द कोका–कोला फाउन्डेसनको साझा प्रतिबद्धतालाई उजागर गरेको छ ।’

सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिका बारेमा स्थानीय सरकारी अधिकारी र उद्योगीहरु बीच संवाद गरिएको थियो ।

वुमन फर ह्युमन राइट्सकि प्रेसिडेन्ट कविता पाण्डेले भने, ‘यो सम्मेलनले जलवायुका असर कम गर्ने कार्यमाभागलिनचाहने समुदायहरूलाई थप उर्जा प्रदान गरेको छ । साथैमा यस सम्मेलनले वातावरण संरक्षणमा महिलाहरूको सहभागितालाई पनि सशक्तबनाएको छ ।’

प्रतिनिधि सभा सदस्य सोबिता गौतम, तोसिमा कार्की र उदय राणाको मन्तव्यले वातावरणीय चुनौतिहरूको सामना गर्न साझा प्रयासको महत्वपूर्ण आवश्यकतालाई जोड दिएको थियो । उहाँहरूको मन्तव्यले दिगो समाधानहरू बढाउन संयुक्त शक्तिको आवश्यकतालाई हाइलाइट गरेको थियो ।

नेपालमा फोहोर व्यवस्थापन र जलवायु सम्बन्धी कार्यलाई अगाडि बढाउने व्यापक चासो र प्रतिबद्धतालाई उजागर गर्न ३३ जिल्ला र ५ देशका ६ सय संस्थाका करिब एक हजार प्रतिनिधिहरू उक्त सम्मेलनमा सहभागी थिए ।

प्रकाशित मिति : २०८१ जेठ ३० गते बुधबार