लन्डन। बेलायतमा उच्च शिक्षा हासिल गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विद्यार्थी भिजा आवेदन दिँदा अब पहिलेभन्दा बढी रकम जीवनयापन खर्चका लागि आफूसँग रहेको प्रमाणित गर्नुपर्ने भएको छ।
बेलायतको गृह मन्त्रालयले आगामी नोभेम्बर ३० देखि विद्यार्थी भिजाका लागि आवश्यक आर्थिक मापदण्ड बढाउने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार लन्डनभित्र र बाहिर अध्ययन गर्ने विद्यार्थीले देखाउनुपर्ने न्यूनतम रकम वृद्धि हुनेछ। हाल लन्डनमा अध्ययन गर्ने विद्यार्थीले जीवनयापन खर्चबापत प्रतिमहिना १ हजार ५२९ पाउन्डका दरले बढीमा नौ महिनाको खर्च देखाउनुपर्छ। नोभेम्बर ३० देखि यो रकम बढेर प्रतिमहिना १ हजार ५७० पाउन्ड पुग्नेछ। यसअनुसार नौ महिना वा सोभन्दा लामो अवधिको कोर्सका लागि अधिकतम १४ हजार १३० पाउन्ड देखाउनुपर्नेछ। यसअघि यस्तो रकम १३ हजार ७६१ पाउन्ड थियो।
लन्डनबाहिर अध्ययन गर्ने विद्यार्थीका लागि पनि जीवनयापन खर्चको सीमा बढाइएको छ। हाल प्रतिमहिना १ हजार १७१ पाउन्ड आवश्यक पर्नेमा नोभेम्बर ३० देखि यो रकम बढेर १ हजार २०३ पाउन्ड पुग्नेछ। नयाँ व्यवस्थाअनुसार नौ महिनाका लागि अधिकतम १० हजार ८२७ पाउन्ड देखाउनुपर्नेछ। यसअघि यस्तो रकम १० हजार ५३९ पाउन्ड थियो।
उक्त रकम विश्वविद्यालयको शिक्षण शुल्कभन्दा अतिरिक्त हो। विद्यार्थीले भिजा आवेदन शुल्क र इमिग्रेसन हेल्थ सरचार्ज ९स्वास्थ्य सेवा शुल्क० पनि छुट्टै तिर्नुपर्ने हुन्छ। उपलब्ध तथ्यांकअनुसार सन् २०२४–२५ मा बेलायतका उच्च शिक्षा प्रदायक संस्थाहरूमा ६ लाख ८५ हजार ५६५ अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत थिए। यो कुल विद्यार्थी संख्याको करिब २४ प्रतिशत हो। तीमध्ये करिब ६३ हजार ६०० विद्यार्थी युरोपेली संघका मुलुकबाट आएका थिए भने करिब ६ लाख २२ हजार विद्यार्थी युरोपेली संघबाहिरका देशका थिए।
चेस्टर विश्वविद्यालयमा ग्लोबल इम्प्याक्ट एन्ड रिसर्चका डीन प्राध्यापक पदम सिम्खडाका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बेलायतको अर्थतन्त्र र उच्च शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। उनका अनुसार सन् २०२१–२२ मा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बेलायतको अर्थतन्त्रमा ४१।९ अर्ब पाउन्ड योगदान दिएका थिए, जसको खुद आर्थिक लाभ ३७।४ अर्ब पाउन्ड रहेको थियो।
नेपाल पनि बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने प्रमुख मुलुकमध्ये एक बनेको छ। भारत, चीन, पाकिस्तान र नाइजेरियापछि नेपाल पाँचौँ ठूलो स्रोत मुलुक रहेको सिम्खडाले बताएका छन्। उनका अनुसार सन् २०२५ डिसेम्बरसम्मको एक वर्षमा १९ हजार ५५३ नेपाली विद्यार्थीले बेलायतको अध्ययन भिजा प्राप्त गरेका थिए।
सन् २०२६ मा पनि सयौँ नेपाली विद्यार्थी अध्ययनका लागि बेलायत पुगेका छन्। तर, बढ्दो महँगी, रोजगारीका सीमित अवसर र अध्ययनको चापका कारण धेरै विद्यार्थीले आर्थिक तथा शैक्षिक चुनौती सामना गरिरहेका छन्। रोह्याम्पटन विश्वविद्यालयमा तीन वर्षे स्नातक तहको अध्ययन गर्न गत वर्ष बेलायत पुगेकी सृष्टि बोहोराले त्यहाँको विद्यार्थी जीवन कठिन रहेको अनुभव सुनाइन्।
उनका अनुसार बेलायतमा काम पाउन निकै गाह्रो छ। काम पाइहाले पनि विद्यार्थीले सातामा २० घण्टा काम गरेर खाना र कोठाभाडाको खर्च धान्नसमेत कठिन हुने गरेको छ। ‘बेलायतमा काम पाउन ज्यादै गाह्रो छ र पाइहाले पनि साताको २० घण्टा काम गरेर आफूलाई खान र कोठाभाडा तिर्न पनि पुग्दैन,’ उनले भनिन्, ‘युनिभर्सिटीलाई तिर्ने शुल्क त नेपालमा ऋण खोजेरै तिरिरहेकी छु।’
जीवनयापन खर्चको आर्थिक मापदण्ड बढेसँगै बेलायतमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले भिजा आवेदन दिनुअघि आवश्यक रकम, शिक्षण शुल्क र अन्य खर्चको योजना सावधानीपूर्वक बनाउनुपर्ने देखिन्छ।








