२०८३ असार ३२ , बिहीबार

विशिष्ट तीन साधकलाई ‘मधुपर्क सम्मान’



मधपर्क मासिकको ५७ औं वार्षिक उत्सवकाे अवसरमा विशिष्ट तीन साधक सम्मान गरेकाे छ। वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीले ‘मधुपर्क सम्मान-२०८१’ आख्यान र समालोचनातर्फ प्रा. कृष्ण गौतम, पद्य मञ्जु काँचुली र ‘मधुपर्क प्रतिभा सम्मान-२०८१’ साहित्यकार किशोर पहाडीलाई जनही ५० हजार रूपैयाँ नगद राशिकाे साथमा सम्मानपत्रले सम्मान प्रदान गरिएको हाे।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति प्राडा त्रिपाठीले ‘गोरखापत्र’ र ‘मधुपर्क’ ले नेपाली साहित्यमा योगदान पुर्‍याएको बताउँदै पछिल्लो साहित्यिक पत्रिका आद्योपान्त पठनीय सामग्रीयुक्त भएको र यसले पाठकको स्तर पनि उकासेको बताए।

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थाका प्रकाशन गुणस्तरीय बनाउने प्रयास गरिएको बताउँदै तिनलाई ‘डिजिटल फर्म्याट’मा राखेर पाठकमैत्री बनाउन थालिएको जानकारी दिए।

महाप्रबन्धक लालबहादुर ऐरीले नेपाली साहित्यको मानक ‘मधुपर्क’ मा योगदान गर्ने सबै स्रष्टा तथा पाठकप्रति सम्मान प्रकट गरे।

कार्यक्रममा समालोचक प्रमोद प्रधानले पुरस्कृत साहित्यकारको छाेटाेमीठाे रूपमा परिचय, कृतित्व तथा व्यक्तित्व प्रस्तुत गरेका थिए। उनले नेपाली भाषासाहित्यको प्रवर्द्धन गर्न, वाङमययको विकास गर्न र नेपाली साहित्यकारहरू जन्माउन मधुपर्कले उल्लेखनीय भूमिका खेलेकाे पनि बताए।

मधुपर्कका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेले विशिष्ट तीन साधकलाई मधुपर्कले सम्मान गरेको भन्नु भन्दा पनि आफैं सम्मानित व्यक्तित्वहरूलाई अनुमोदन मात्र गरेको बताए। धेरै खर्च गरेर कृतिहरूको लाेकार्पण गर्नुभन्दा साहित्यिक पत्रिकाहरूलाई विज्ञापन दिएर प्रचारप्रसार गर्न साहित्यकारहरूलाई आग्रह गरे।

कार्यक्रममा छनौट समितिका संयोजक कथाकार पुष्कर लोहनीले नेपाली साहित्यलाई विश्व स्तरमा पुर्‍याउनुपर्नेमा जोड दिंदै श्लील याैन कथाहरूलाई पनि अश्लील मानेर गाली गरेकाे विगत पनि सम्झिए।

कार्यक्रमको दोस्रो चरणमा ‘मधुपर्क मन्थन’ अन्तर्गत स्रष्टा द्रष्टा प्राडा दयाराम श्रेष्ठ र सीता पाण्डे (आख्यान) र प्राडा लक्ष्मणप्रसाद गौतम र श्यामल (पद्य) ले सहभागीहरूसँग छलफल गरेका थिए।

उक्त अवसरमा प्राडा श्रेष्ठले आख्यान खासगरी नेपाली कथा लेखनलाई रातो, निलो, पहेंलो आदि रङका माध्यमबाट विश्लेषण गरेका थिए।

त्यस्तै कथाकार पाण्डेले विदेशमा बसेर पनि आफूहरूले नेपाल र नेपाली साहित्यमै चिन्तन गरिरहेको बताइन्।

त्यस्तै प्राडा गौतमले नेपाली कविताले समय, समाज र मान्छेबारे बोले पनि त्यसको शाश्वतीकरण भने हुन नसकेको बताए।

कवि श्यामलले आजकलका नेपाली समालोचक एक सय १३ शब्दमै रुमल्लिएको र परम्परावादी मात्र भएको धारणा राखे।

कार्यक्रममा मधुपर्ककाे तर्फबाट प्रमुख अतिथि, छनौट समितिका संयोजक पुष्कर लोहनी, समालाेचक प्रमोद प्रधान र मधुपर्कका पूर्व सम्पादक जयदेव भट्टराईलाई मायाको चिनो प्रदान गरिएको थियो।

गोरखापत्रका समाचार सम्पादक दीपक श्रेष्ठले सञ्चालन गरेकाे कार्यक्रममा नन्दु उप्रेती, कृष्ण कँडेल, भागीरथी श्रेष्ठ, लक्ष्मी उप्रेती, ममता मृदुल, विमल भाैकाजी, वियाेग बुढाथाेकी, डा. शेखरकुमार श्रेष्ठ, प्रमाेद स्नेही, विनाेद नेपाल, रामकुमार पण्डित, विन्दु अधिकारी ढकाल, विक्रमभक्त जाेशी, डा.दामाेदर पुडासैनी लगायतकाे बाक्लै उपस्थित रहेकाे थियाे।

कार्यक्रममा गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीले स्वागत मन्तव्य राख्दै मधुपर्ककै कारण गोरखापत्र संस्थानका अन्य प्रकाशनप्रति पनि जनविश्वास बढ्दै गएको बताए। उनले साहित्य व्यापार नभइ समाज सेवा रहेकाे पनि बताए।

प्रकाशित मिति : २०८१ जेठ ३१ गते बिहीबार