काठमाडौं। अब नेपाली नागरिकले देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सक्ने भएका छन्।
नेपाल सरकारको शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता ९पाँचौँ संशोधन० नियमावली, २०८३ अनुसार यस्तो व्यवस्था गरिएको हो। नागरिकता प्रमाणपत्र आगलागी, पानी, च्यातिने वा अन्य कारणले नष्ट भएमा, हराएमा अथवा नयाँ ढाँचामा आवश्यक परेमा सेवाग्राहीले प्रतिलिपिका लागि आवेदन दिन सक्नेछन्।
गृह मन्त्रालयले २०८३ कात्तिक ९ गते जारी गरेको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सहज सेवा उपलब्ध गराउन तीन जिल्ला प्रशासन कार्यालयबाट प्रदेशगत रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको छ। जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरबाट विभिन्न प्रदेशका नागरिकलाई सेवा उपलब्ध गराइनेछ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयस् बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकलाई सेवा उपलब्ध गराइनेछ। ललितपुर जिल्ला प्रशासन कार्यालयस् कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन्। भक्तपुर जिल्ला प्रशासन कार्यालयस् कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकलाई सेवा प्रदान गरिनेछ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आवेदन दिने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग हुबहु मिलेमा सहज रूपमा नागरिकताको प्रतिलिपि जारी गरिनेछ। तर, सम्बन्धित प्रणालीमा रहेको अभिलेख नमिलेमा वा साविकको नागरिकतामा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण राखेर प्रतिलिपि लिन खोजेमा भने थप प्रक्रिया पूरा गर्नुपर्नेछ।
त्यस्तै, अभिलेखमा शङ्का देखिएमा वा विवरण सच्याएर प्रतिलिपि लिनुपर्ने अवस्थामा सेवाग्राहीले साविकमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयमै सम्पर्क गर्नुपर्नेछ। यस व्यवस्थाले आफ्नो स्थायी जिल्लाभन्दा बाहिर बसोबास गर्ने नागरिकलाई नागरिकताको प्रतिलिपि लिन सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी रोजगारी, अध्ययन तथा अन्य कामका लागि काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिकलाई यसबाट लाभ पुग्नेछ।








