२०८३ कात्तिक ११ , बुधबार

विशेषज्ञ चिकित्सक नहुँदा हुम्ला जिल्ला अस्पतालको सेवा प्रभावित



हुम्ला। जिल्ला अस्पताल हुम्लामा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीको उपचार सेवा प्रभावित भएको छ। विशेषज्ञ चिकित्सकको अभावमा जिल्लामै सुत्केरी गराउन सकिने गर्भवती महिलालाई समेत थप उपचारका लागि सुर्खेत पठाउनुपर्ने अवस्था आएको छ।

गर्भवतीका आफन्त जयबहादुर शाहीका अनुसार यसअघि प्रसूति व्यथा लागेर अस्पताल पुग्ने महिलालाई जिल्लामै सुत्केरी गराउन सकिन्थ्यो। तर, अहिले विशेषज्ञ चिकित्सक नहुँदा गर्भवती महिलालाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। अस्पतालका वरिष्ठ अनमी सरिता बोहराका अनुसार करिब डेढ महिनादेखि जिल्ला अस्पताल विशेषज्ञ चिकित्सकविहीन बनेको छ। यसका कारण परिवार नियोजन, प्रसूति सेवा तथा जटिल प्रकृतिका बिरामीको उपचारमा समस्या भइरहेको छ। यस्ता बिरामीलाई अन्यत्र रेफर गर्नुबाहेक विकल्प नरहेको उहाँको भनाइ छ।

जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकका दुई दरबन्दी रहे पनि दुवै पद रिक्त छन्। यसअघि कार्यरत एक जना विशेषज्ञ चिकित्सकको समेत सरुवा भएपछि अस्पतालमा विशेषज्ञ सेवा पूर्ण रूपमा प्रभावित भएको बोहराले जानकारी दिनुभयो। प्रदेश सरकारले अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्था नगरी उपलब्ध जनशक्तिसमेत सरुवा गर्दा दुर्गम क्षेत्रका बिरामीले सास्ती खेप्नुपरेको उहाँले बताउनुभयो।

अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध नहुँदा बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था रहेको अस्पतालका चिकित्सक डा. मुकेश यादवले बताउनुभयो। यसैबीच, जिल्ला अस्पतालमा सात जना चिकित्सक आवश्यक पर्ने भए पनि हाल तीन जनाले मात्रै सेवा दिइरहेका छन्। निमित्त कार्यालय प्रमुखसहित अर्का एक चिकित्सक दसैँ मनाउन घर गएको र हालसम्म अस्पताल नफर्किएको जनाइएको छ।

आवश्यक चिकित्सकको अभाव र सीमित जनशक्तिका कारण हुम्लाका स्थानीयवासीले समयमै उपचार पाउन कठिनाइ भोगिरहेका छन्। विशेषगरी प्रसूति सेवा र जटिल स्वास्थ्य समस्याको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताले बिरामी तथा उनीहरूका परिवार थप आर्थिक र मानसिक दबाबमा परेका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते बुधबार