धेरै जसो मानिसक रोग किशोर– किशोरी उमेरमा लाग्छ। तर यो कुरा धेरै अभिभावकलाई जानकारी नहुँदा किशोर–किशोरी समस्यामा पर्छन्। कतिपयको मानसिक रोग जटिल बनेपछि आत्महत्याको बाटो रोज्छन्। यो अवस्थाको सम्बोधन गर्न मानसिक अस्पताल पाटनले केही महिनादेखि यता किशोर–किशोरीको लागि मात्र छुट्टै इकाई खोलेर सेवा सुरु गरेपछि सेवा प्रभावकारी बनेको अस्पतालले जनाएको छ।
अस्पतालमा यो सेवा गत मंसिरदेखि छुट्टै इकाई को रुपमा सुरु भएको हो। ‘भर्ना गरेरै उपचार गर्नु पर्दा उमेर समूह अनुसारको साझा रुचि हुने हुँदा उपचारमा सहज अनुभव गर्छन्’ निर्देशक अधिकारीले भने।
६ महिनाको अवधिमा अस्पतालमा करिब ९ हजार जनाले सेवा लिइसकेका छन्। ती मध्येमा केही संख्यामा अन्तरङ्ग सेवा लिइसकेका छन्। १२ शैय्याको अन्तरङ्ग विभाग पनि यो इकाई अन्तर्गत सञ्चालनमा छ। ‘अहिले पनि वार्डमा भर्ना भएरै उपचार गरिरहेका किशोर–किशोरी छन्’ उनले भने।
किशोर–किशोरी उमेर समूह शारीरिक तथा मानसिक रुपमा परिवर्तन आउने उमेर भएकोले यो अवधिमा उनीहरूमा कडा तथा सामान्य खालका मानसिक समस्या आउने र त्यसको समयमै पहिचान गरी उपचार गरेमा उनीहरुलाई बर्बादीबाट बचाउन सकिने निर्देशक डा. अधिकारी बताउँछन।
चिकित्सकका अनुसार यस्तो उमेर समूहका बिरामी स्कुल तथा कलेज पढ्दै गरेका हुने र उनीहरूको रुचि पनि साझा हुने भएकोले छुट्टै इकाई मार्फत सेवा दिँदा प्रभावकारी हुन्छ। लामो समय भर्ना भई उपचार गर्ने किशोर–किशोरीको लागि अस्पतालले शिक्षकको पनि व्यवस्था गरेको छ। एकै समय पढाइ र उपचार हुँदा उपचारको नाममा समय खेर नजाने गरी शिक्षकको व्यवस्था गरेको छ। छुट्टै युनिटमा १४ देखि १८ वर्षभित्रका किशोर–किशोरीलाई सेवा दिइन्छ।
मानसिक अस्पताल विशिष्ट अस्पताल भएकोले विशिष्ट सेवाको लागि विभिन्न विधामा सेवा विस्तार गरेको हो। विस्तारित सेवा अन्तर्गत बाल मानसिक रोग सेवा, ज्येष्ठ नागरिक सेवा, किशोर–किशोरी सेवा विस्तार गरेको जनाएको छ। ‘मानसिक रोग अस्पताल एक मात्र केन्द्रीय मानसिक रोग अस्पताल भएकोले यसले विशिष्ट सेवाहरु सञ्चालन गर्नु पर्छ’ उनले भने।
किशोर–किशोरी सेवा पहिलादेखि नै सुरु गर्न खोजे पनि बजेट अभावले समयमै सुरु गर्न नसकेको अस्पतालले जनाएको छ। गत वर्षदेखि शिविन नेपालले दुई वर्षसम्मको लागि स्रोतको व्यवस्थापन गरेपछि सेवा विस्तार गर्न सम्भव भएको हो।
डा. अधिकारीका अनुसार किशोर–किशोरीमा डिप्रेशन, एडीएचडी(एकाग्रता नहुने समस्या), कन्भर्सन डिस्अर्डर(सामूहिक बेहोस हुने),बाइपोलार डिस्अर्डर, एन्जाइटी(डराउने समस्या) लगायतका मानसिक समस्या बढी देखिएको छ। यी मानसिक रोग जटिल बनेपछि कतिपयले आत्महत्या गर्ने, नियमित पढाइ अघि बढाउन नसक्ने, बढी रिसाउने, मुर्छा पर्ने, अभिभावकले भनेको नमान्ने,एकान्तमा बस्न रुचाउने जस्ता लक्षण देखाउँछ। यी लक्षणहरू रोग अनुसार फरक–फरक हुन्छन्। यी र यस्ता लक्षणहरूमा कुनै पनि देखिएमा तुरुन्त उपचारमा जान चिकित्सक सुझाउँछ।
यो उमेर समुहमा मानसिक रोग पहिलादेखि नै रहे पनि पछिल्लो समय बढेको उपचारमा आउने बिरामीको संख्याले औँल्याएको डा. अधिकारी बताउँछन्। उनका अनुसार जनजागरणको कारण उपचारमा आउने चलन बढ्नु र यथार्थमा बिरामी संख्या पनि बढेको देखिन्छ। यो उमेर समुहमा कति मानसिक रोग छ भन्ने बारेमा यकिन तथ्यांक छैन।
पारिवारिक बेमेले, सामाजिक सञ्जालको प्रयोग र यसबाट हुने दुरुपयोग,तनाव, जीवनशैलीमा आएको परिवर्तन,घरझगडा, आर्थिक विपन्नता, दुर्व्यसनी जस्ता कारणले किशोर–किशोरीमा मानसिक रोग लाग्ने गरेको पाइएको छ। ‘हिंसामा परेका किशोर–किशोरीमा पछि गएर मानसिक असर परेको देखिन्छ’ उनले भने।
किशोर–किशोरीलाई मानसिक समस्याबाट रोक्नको लागि सामाजिक, पारिवारिक,विद्यालय तथा सबै निकायको उत्तिकै भूमिका हुन आवश्यक रहेको चिकित्सक सुझाउँछ। किशोर–किशोरीको समस्या राम्रोसँग सुन्ने र सम्बोधन गर्ने वातावरण अभिभावकमा हुनु पर्छ। किशोर–किशोरीले बढी समय बिताउने स्थान भनेको विद्यालय भएकोले शिक्षक–शिक्षिकाको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको सुझाव छ। पछिल्लो समय किशोर–किशोरीमैत्री वातावरण निर्माण गर्न स्थानीय तहको पनि भूमिका हुनु पर्ने डा. अधिकारी बताउँछन्।








