सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जना गम्भीर घाइते भएका छन् । आइतबार वीरेन्द्रनगर नगरपालिका वडा नं. २ स्थित उत्तरगंगा मन्दिर नजिकै दुर्घटना भएको हो । मूलपानी चोकबाट फलाटेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ प ४८७ नम्बरको पल्सर मोटरसाइकल सडकमा अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं. ४ घर भई हाल सुर्खेत वीरेन्द्रनगर–१० रहलपुर बस्ने २४ वर्षीय समीर सिंह घाइते भएका छन् । दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
घाइते सिंहलाई तत्काल उपचारका लागि कर्णाली केयर अस्पताल सुर्खेत लगिएको थियो । त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ । हाल उनको उपचारमा अंकल पदम सिंह संलग्न रहेका छन् ।
घटना लगत्तै नगर प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक शिव मैनालीको कमान्डमा ट्राफिक प्रहरीसहित ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको नगर प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।








