सुर्खेत । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको एघारौं दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी कार्य कठिन बनेको छ। बाढीले विभिन्न जलविद्युत् आयोजनाका सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय, आवास तथा पहुँचमार्गमा क्षति पुर्याएपछि ठूलो संख्यामा कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका हुन्।

तर खोजीका क्रममा नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई कर्मचारीलाई जीवितै उद्धार गरिएपछि उद्धारमा खटिएका टोली र बेपत्ता व्यक्तिका परिवारमा नयाँ आशा पलाएको छ।
शुक्रबार नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सुरुङबाट जीवितै उद्धार गरिएको हो। उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
उनीहरूको जीवितै उद्धार भए पनि सोही सुरुङबाट एक जनाको शव फेला परेको छ। आयोजनाका प्रमुख आवास ओझाका अनुसार सुरक्षाकर्मीको टोलीले सुरुङबाट शव निकालेको हो। त्रिशूली–३ ‘ए’ मा बाढीपछि ४२ जना सम्पर्कविहीन रहेकोमा दुई जनाको उद्धार र एक जनाको शव फेला परेसँगै अझै ३९ जना सम्पर्कविहीन छन्।
ढुंगा र लेदो पन्छाउँदै सुरुङभित्र खोजी
त्रिशूली–३ ‘ए’ मा नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले सुरुङको आउटलेटमा थुप्रिएको लेदो, बालुवा र ढुंगा हटाउँदै खोजी गरिरहेको छ। पाँचवटा एस्काभेटर, कम्प्रेसर र ब्रेकरको प्रयोग गरी टोली सुरुङभित्र करिब ३० मिटर प्रवेश गरेको छ।
सुरुङभित्र ठूलो ढुंगा भेटिएपछि ब्लास्टिङ गरी बाटो खोल्ने कामसमेत भइरहेको छ। जमेको पानी, माटो र ढुंगा हटाउँदै सुरुङभित्र प्रवेश गर्ने बाटो बनाइँदैछ। तर बाढीले ल्याएको लेदो र संरचनामा थुप्रिएको ढुंगाका कारण सुरुङभित्रको खोजी जोखिमपूर्ण बनेको छ।
त्रिशूली–३ ‘बी’ मा भारी उपकरण पुर्याउनै समस्या
निर्माणाधीन माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा भने उद्धार टोलीलाई घटनास्थलसम्म पुर्याउनै ठूलो चुनौती देखिएको छ। बाढीले आयोजनासम्म पुग्ने पहुँचमार्ग ध्वस्त पारेपछि अहिले एस्काभेटर प्रयोग गरेर बाटो खोल्ने काम भइरहेको छ।
आयोजनाका अनुसार यहाँ १९१ जना सम्पर्कविहीन छन्। तीमध्ये फेवा कन्स्ट्रक्सनका १४१, त्रिशूली जलविद्युत् कम्पनीका २१, कर्मचारीका परिवारका सात, चेस्का इन्जिनियरिङका १२, एक सुरक्षा गार्ड र काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि पुगेका तीन जना रहेका छन्।
तीनवटा एस्काभेटरबाट बाटो खोल्ने काम भइरहेको भए पनि साना मेसिनले अपेक्षित गतिमा काम गर्न सकेका छैनन्। ठूलो एस्काभेटर घटनास्थलसम्म पुर्याउन डाँडा काट्ने काम भइरहेको छ। त्यो सम्भव नभए ठूलो मेसिनलाई टुक्र्याएर घटनास्थलमा पुर्याई पुनः जडान गर्ने विकल्पमा समेत छलफल भइरहेको छ।
लाङटाङमा शव भेटिए, खोजी जारी
रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव फेला परिसकेका छन्। नेपाली सेनासहित २५ जनाको संयुक्त टोलीले सुरुङभित्र करिब २०० मिटरसम्म प्रवेश गरी थप खोजी गरिरहेको छ।
सुरुङका विभिन्न भागमा साना होल बनाएर क्यामरा तथा अन्य उपकरणको सहायताले अवस्था बुझ्ने प्रयास भइरहेको छ। आयोजनाका अधिकारीहरूले बाढीले पुर्याएको क्षति सामान्य बाढीको भन्दा निकै भयावह रहेको बताएका छन्।
उनीहरूका अनुसार सुरुङभित्र पानीको बहाव, ढुंगा, माटो र लेदोका कारण उद्धार टोलीलाई अघि बढ्न कठिन भइरहेको छ। घटनाले जलविद्युत् आयोजनाको जोखिम मूल्यांकन, डिजाइन तथा आपत्कालीन उद्धार प्रणालीलाई पुनः समीक्षा गर्नुपर्ने आवश्यकता देखाएको छ।
माथिल्लो त्रिशूली–१ मा पनि खोजी
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा समेत खोजी जारी छ। नेपाली सेनाको टोलीले एक्सेस टनेलबाट रबर बोट प्रयोग गरी करिब २०० मिटरसम्म प्रवेश गरेपछि बन्द भाग फेला पारेको थियो। सोही क्रममा एक शव फेला परेको छ।
अडिट टनेल–३ मा करिब १.८ किलोमिटरसम्म पुगेर खोजी गरिएको छ। टनेलका कतिपय भागमा तीनदेखि चार मिटरसम्म दलदल जमेकाले खोजी प्रभावित भएको छ आयोजनाका अनुसार ५५७ जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढी आउनुअघि आयोजनामा १ हजार ४३३ जना कार्यरत थिए। खोज तथा उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी विशेषज्ञ, शेर्पा तथा ड्रोन टोलीसँगै विशेष क्यामरा र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ।
चिलिमे र रसुवागढीमा पनि अवस्था उस्तै
२० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा पनि नेपाली तथा विदेशी विशेषज्ञसहितको टोलीले खोजी गरिरहेको छ। सुरुङभित्र करिब १०० मिटर प्रवेश गरे पनि कतिपय भाग पूर्णरूपमा बन्द भएकाले थप अघि बढ्न कठिन भएको छ। नदीमा बालुवा, हिलो र लेदो थुप्रिँदा पानीको सतहसमेत बढेको आयोजनाले जनाएको छ। चिलिमेमा ६ जना सम्पर्कविहीन छन्।
त्यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन रहेको जनाइएको छ। भूमिगत विद्युत्गृहमा फसेकाहरूको उद्धारका लागि पहुँच नै मुख्य समस्या बनेको छ। नदीमा पानीको सतह बढ्नु, जमिन कटान भइरहनु तथा हेलिकोप्टर अवतरणका लागि सुरक्षित स्थान नहुनुले उद्धार थप जटिल बनेको हो।
बाढीको दशौँ दिनसम्म पनि कतिपय आयोजनामा उद्धार टोली सुरुङको भित्री भागसम्म पुग्न सकेको छैन। कतै शव भेटिएका छन्, कतै सुरुङ लेदो र ढुंगाले पुरिएका छन् भने कतिपय स्थानमा पहुँचमार्गसमेत पुनर्निर्माण गर्नुपर्ने अवस्था छ।
यस्तो कठिन परिस्थितिका बीच २१६ घण्टापछि दुई कर्मचारीको जीवित उद्धारले भने हराइरहेकाहरूको खोजीमा आशा जगाएको छ। अब उद्धार टोलीका लागि चुनौती केवल बेपत्ताको अवस्था पत्ता लगाउनु मात्र होइन, जोखिमपूर्ण सुरुङ र ध्वस्त संरचनाभित्र सुरक्षित रूपमा प्रवेश गरी सम्भावित जीवित व्यक्तिलाई तत्काल बाहिर निकाल्नु पनि बनेको छ।








