आइसिसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्ससामु १६० रनको लक्ष्य प्रस्तुत गरेको छ।
बिहीबार किंग्सटाउनमा टस हारेर पहिला ब्याटिङमा उत्रेको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनको योगफल खडा गर्यो।
वर्षाका कारण करिब आधा घण्टा ढिलो सुरु भएको खेलमा साकिब अल हसनले अर्धसतकीय पारी खेले। उनले सर्वाधिक ६४ रन बनाए। यस क्रममा उनले ४५ बलमा नौ चौका प्रहार गरे।
तान्जिन हसनले ३५ रन, महमदुल्लाहले २५ रन र जाकेर अलीले १४ रन जोडे। नेदरल्यान्ड्सका आर्यन दत्त र पाउल भान मिकेरेनले समान दुई विकेट लिए भने टिम प्रिंगलले एक विकेट हात पारे।
यो खेल दुवै टिमको प्रतियोगितामा तेस्रो खेल हो। दुवै टिम आज दोस्रो जितको खोजीमा छन्। दुई खेलबाट समान दुई अंक जोडेका बंगलादेश र नेदरल्यान्ड्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
प्रकाशित मिति : २०८१ जेठ ३१ गते बिहीबार








