काठमाडौं। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल ल्याइएको एक किलोभन्दा बढी गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। ब्युरोका अनुसार मंगलबार अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजा बरामद गरिएको थियो। प्रहरीले गाँजा बरामद गर्न ‘कन्ट्रोल डेलिभरी’ विधि प्रयोग गरेको जनाएको छ। उक्त घटनामा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवरसिंह र ३३ वर्षीय वन्दित पटेल पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
प्रकाशित मिति : २०८३ कात्तिक ११ गते बुधबार








