काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ का लागि परीक्षा आवेदन फारम भर्ने सूचना जारी गरेको छ।
बोर्डले कक्षा ९ मा अध्ययनरत विद्यार्थीका लागि रजिस्ट्रेसन फारम तथा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीका लागि आवेदन फारम भर्न छुट्टाछुट्टै व्यवस्था गरेको छ। बोर्डका अनुसार शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नुपर्नेछ। यसका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क तोकिएको छ। त्यस्तै, २०८४ सालमा सञ्चालन हुने एसईई परीक्षामा सहभागी हुन नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीले कात्तिक १ गतेदेखि मङ्सिर ८ गतेसम्म आवेदन फारम भर्न सक्नेछन्।
परीक्षा आवेदनका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई निर्धारित समयभित्र विद्यार्थीको रजिस्ट्रेसन तथा परीक्षा आवेदन फारम भर्न र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। तोकिएको समयसीमाभित्र फारम भर्नुपर्ने भएकाले विद्यार्थी तथा विद्यालयले बोर्डको सूचनाअनुसार आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।








