२०८३ कात्तिक ११ , बुधबार

मौलिक नेपाली चलचित्र निर्माणका लागि साढे तीन करोड अनुदान दिने सरकारको घोषणा



काठमाडौं । नेपाली मौलिक कथा, संस्कृति र राष्ट्रिय पहिचान झल्काउने चलचित्र निर्माणलाई प्रोत्साहन गर्न सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ मा तीन करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक महत्त्व बोकेका विषयमा आधारित चलचित्र निर्माणका लागि इच्छुक व्यक्ति तथा संस्थासँग आवेदन माग गरेको छ। मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार अनुदान प्राप्त गर्न चाहनेले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ। स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको यो योजना ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार कार्यान्वयन गरिनेछ।

सरकारले नेपाली समाजको विविधता, सांस्कृतिक सम्पदा, राष्ट्रिय पहिचान र सामाजिक यथार्थलाई चलचित्रमार्फत उजागर गर्ने उद्देश्य राखेको छ। मौलिक कथावस्तुमा आधारित चलचित्र निर्माणलाई आर्थिक सहयोग उपलब्ध गराएर सिर्जनशील चलचित्रकर्मीलाई प्रोत्साहित गर्ने मन्त्रालयको लक्ष्य छ। मन्त्रालयले चलचित्र निर्माणका तीन चरणलाई समेटेर अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। यसअन्तर्गत स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा आवेदन दिन सकिनेछ।

स्क्रिप्ट विधाबाट कथा तथा पटकथा विकासका लागि सहयोग प्राप्त हुनेछ। प्रोडक्सन विधा चलचित्र छायांकन तथा निर्माण प्रक्रियासँग सम्बन्धित हुनेछ भने पोस्ट प्रोडक्सन विधाअन्तर्गत छायांकनपछि गरिने सम्पादनलगायत प्राविधिक कार्यका लागि अनुदान माग गर्न सकिनेछ। यस कार्यक्रमले चलचित्रको कथा विकास गरिरहेका लेखकदेखि निर्माणमा जुटेका निर्माता तथा निर्माणपछिका काममा संलग्न चलचित्रकर्मीलाई समेट्ने अपेक्षा गरिएको छ। प्रत्येक विधामा उपलब्ध हुने अनुदान रकम र छनोटका विस्तृत सर्त भने मन्त्रालयले जारी गरेको आधिकारिक सूचनाअनुसार लागू हुनेछन्।

अनुदानका लागि आवेदन दिने व्यक्ति वा संस्थाले सम्बन्धित चलचित्र परियोजनाको विस्तृत विवरण बुझाउनुपर्नेछ। आवेदनमा स्क्रिप्टको नाम, अनुदान माग गरिएको विधा, कथाकार, पटकथाकार तथा स्क्रिप्ट लेखकको नाम र ठेगाना उल्लेख गर्नुपर्ने व्यवस्था छ। त्यस्तै, चलचित्रको भाषा, निर्माता, निर्देशक र छायांकरको नाम तथा ठेगाना खुलाउनुपर्नेछ। चलचित्र निर्माण गर्ने संस्था वा कम्पनीको विवरण र साझेदार संस्था भए त्यसको जानकारीसमेत आवेदनमा समावेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

नेपाली मौलिक कथामा आधारित चलचित्रलाई प्राथमिकता दिँदै अघि बढाइएको यस कार्यक्रमले नयाँ कथावस्तुको विकास, सामाजिक मुद्दाको अभिलेखीकरण र राष्ट्रिय पहिचानको प्रवद्र्धनमा योगदान पु¥याउन सक्ने अपेक्षा गरिएको छ। विशेषगरी नेपाली समाजका विविध पक्ष, ऐतिहासिक घटना र सांस्कृतिक विशेषतालाई चलचित्रमा प्रस्तुत गर्न चाहने सिर्जनाकर्मीका लागि यो अवसर बन्न सक्छ।

तर, कार्यक्रमको वास्तविक उपलब्धि अनुदान वितरणको पारदर्शिता, परियोजना छनोटको निष्पक्षता र रकमको उचित उपयोगमा निर्भर रहनेछ। सार्वजनिक स्रोतबाट प्रदान गरिने सहयोगले गुणस्तरीय, मौलिक र सामाजिक रूपमा अर्थपूर्ण चलचित्र निर्माणमा योगदान पु¥याउनु आवश्यक छ। अनुदानका लागि आवेदन दिन इच्छुक व्यक्ति तथा संस्थाले मन्त्रालयको आधिकारिक सूचनामा उल्लेख गरिएका सर्त, कागजात र प्रक्रियाको अध्ययन गरी तोकिएको २१ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते बुधबार