२०८३ असार ३२ , बिहीबार

सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयोः खेलकुदमन्त्री श्रेष्ठ



युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन्। शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन्।

उनले सरकार पुरातन र कर्मकाण्डी हिसावमै चलेको र आफूहरुले खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए। राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको र कुनैपनि कुरामा रास्वपामाथि अनावश्यक, अनाधिकृत हिसावले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने चेतावनी दिए। उनले वर्तमान राजनीतिक परिस्थितिमा एक पटक सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भएको बताए।

उनले भने, ‘सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसावले उपलब्धी नहुने गरी चलिरहेको छ। हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौँ। केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसावले हामीलाई कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिर आउन तयार छ। हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ। वर्तमान राजनीतिक परिस्थितिमा एक पटक हामी जिम्मेवार नेताहरु सबै बसेर सल्लाह पनि भएको छ। सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ। सत्तारुढ दलहरुमा पनि यसलाई पुनरावलोकन र समीक्षा गर्ने कुरा चल्न थालेको छ।’

यस्तै,मन्त्री श्रेष्ठले रास्वपाले आशा र सम्भावना जीवित राखेर काम गरिरहेको बताए। उनले खेलकुद क्षेत्रलाई व्यवस्थित गर्नेकुरामा आफूहरुले काम पूरा गरेको दाबी गरे।

प्रकाशित मिति : २०८१ असार २ गते शनिबार