२०८३ कात्तिक १३ , शुक्रबार

सीमा सुरक्षा थप प्रभावकारी बनाउने नेपाल–भारत सहमति, संयुक्त गस्ती र प्रविधिको प्रयोग बढाइने



काठमाडौं । सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल र भारतले सुरक्षा सहकार्य थप मजबुत बनाउने भएका छन्।

सीमा व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउनेसहित विभिन्न विषयमा सहमति गर्दै नेपाल–भारत १०औँ समन्वय बैठक काठमाडौंमा सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक संजय सिंघलको नेतृत्वमा दुवै देशका सुरक्षा अधिकारीबीच बैठक भएको हो।

बैठकमा यसअघि सम्पन्न नवौँ समन्वय बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको थियो। साथै रणनीतिक, सञ्चालनगत र कार्यक्षेत्र तहमा समन्वय विस्तार गर्दै सीमा अपराध नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने विषयमा दुवै पक्षले प्रतिबद्धता जनाएका छन्। बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका उच्च अधिकारीसहित गृह तथा परराष्ट्र मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए।

भारतका तर्फबाट सशस्त्र सीमा बलका उच्च अधिकारी, काठमाडौंस्थित भारतीय दूतावास तथा विदेश र गृह मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति थियो। बैठकमा खुला सीमाको दुरुपयोग गरी हुने आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। अवैध तस्करी, मानव बेचबिखन, नक्कली नोटको कारोबार, लागुऔषध ओसारपसार तथा तेस्रो मुलुकका नागरिकको अनधिकृत आवतजावत रोक्न दुवै देशले समन्वय बढाउने सहमति गरेका छन्।

सीमा क्षेत्रमा शंकास्पद गतिविधि देखिए तत्काल सूचना आदानप्रदान गर्ने, समन्वयात्मक गस्ती सञ्चालन गर्ने तथा सीमापार आपराधिक सञ्जालविरुद्ध संयुक्त रूपमा काम गर्ने निर्णय भएको छ। विशेषगरी खुला सीमाबाट तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न प्रमुख नाकाहरूमा जाँच प्रक्रिया कडा बनाउने र यात्रुसँग सम्बन्धित कागजातको प्रमाणीकरणलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।सीमा क्षेत्रमा शान्ति र सुरक्षा कायम राख्न दुवै देशका सुरक्षा निकायले प्रदर्शन गरेको व्यावसायिकता र सहकार्यको बैठकमा प्रशंसा गरिएको थियो।

नेपाल–भारत सीमाको दशगजा क्षेत्रलाई व्यवस्थित र अतिक्रमणमुक्त बनाउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्। दशगजा क्षेत्रमा हुने अनधिकृत खेतीपाती, अतिक्रमण तथा गैरकानुनी संरचना हटाउन निरन्तर समन्वय गर्ने निर्णय भएको छ। त्यसैगरी सीमा स्तम्भको मर्मत, सम्भार तथा पुनर्निर्माण कार्यलाई तीव्रता दिन दुवै देशका फिल्ड तहका निकायबीच सहकार्य बढाइने भएको छ। सीमा स्तम्भसम्बन्धी काम बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) र सर्भे अफिसियल्स कमिटी (एसओसी) का निर्णयअनुसार अघि बढाउने सहमति पनि बैठकमा भएको छ।

परम्परागत सीमा सुरक्षा प्रणालीलाई आधुनिक प्रविधिमा आधारित स्मार्ट सीमा व्यवस्थापनमा रूपान्तरण गर्ने विषयमा दुवै देशका अधिकारीबीच विस्तृत छलफल भएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीका अनुसार दशगजा क्षेत्रको निगरानीका लागि सीसीटीभी जडान गर्ने, प्रमुख सीमा नाकामा लगेज स्क्यानर र वाक–थ्रु मेटल डिटेक्टर राख्ने तथा आ–आफ्नो भूभागमा ड्रोनको प्रयोग विस्तार गर्ने विषयमा छलफल भएको हो।

सीमा सुरक्षामा खटिने जनशक्तिको क्षमता अभिवृद्धि गर्न विशेष तालिम तथा प्रविधिसम्बन्धी सहयोग विस्तार गर्ने निर्णयसमेत गरिएको छ। साथै दुवै सुरक्षा निकायबीच नियमित अध्ययन तथा अनुभव आदानप्रदानका लागि भ्रमण कार्यक्रम सञ्चालन गरी संस्थागत सम्बन्ध बलियो बनाइने भएको छ।

बैठकमा सामाजिक सञ्जालको दुरुपयोग र भ्रामक सूचनाका कारण सीमा क्षेत्रको सुरक्षा तथा सामाजिक सद्भावमा पर्न सक्ने असरबारे पनि छलफल भएको छ। यस्ता चुनौतीको सामना गर्न दुवै देशका सुरक्षा निकायबीच संस्थागत समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।

सीमा सुरक्षा मात्र नभई प्राकृतिक विपद्को समयमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने विषयले पनि बैठकमा स्थान पाएको छ।बाढी, पहिरो तथा भूकम्पजस्ता विपद्को सामना गर्न चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयमा संयुक्त शीघ्र जल उद्धार अभ्यास (ज्वइन्ट स्वीफ्ट वाटर रेस्क्यु एक्सरसाइज) सञ्चालन गर्ने विषयमा छलफल भएको छ।यसबाट दुवै देशका सुरक्षाकर्मीबीच विपद् प्रतिकार्य, उद्धार सीप र आपसी समन्वय क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

सीमा पार गर्ने वैधानिक यात्रुलाई सहज सेवा उपलब्ध गराउन प्रमुख नाकाहरूमा सहायता कक्ष (हेल्प डेस्क) विस्तार गर्ने सहमति पनि भएको छ। त्यस्तै, दुवै देशबीच आपसी विश्वास र सद्भाव बढाउन मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, अन्तर्राष्ट्रिय दिवस तथा प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।

सन् २०१२ देखि पालैपालो नेपाल र भारतमा आयोजना हुँदै आएको नेपाल प्रहरी बलको नभई सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीचको द्विपक्षीय समन्वय बैठकको अर्को संस्करण आगामी वर्ष भारतमा आयोजना हुने तय भएको छ। दुवै देशले सीमा सुरक्षा, अपराध नियन्त्रण, प्रविधिको प्रयोग र संस्थागत सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि समन्वय निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते शुक्रबार