पोखरामा कबड्डीको रेफ्री प्रशिक्षक प्रशिक्षण शनिबारबाट सुरु भएको छ। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो।
उक्त प्रशिक्षण कार्यक्रमको सुरुआत गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले कुनै पनि खेलकुदको जग विद्यालय भएकाले परिषद्ले आफ्ना प्रशिक्षणका कार्यक्रमलाई सोहीअनुरूप तय गरेको बताए।
परिषद्ले खेलकुद विकासका लागि विभिन्न कार्यक्रम अघि सारेको जनाउँदै सोहीअनुसार कबड्डीको रेफ्री प्रशिक्षक प्रशिक्षण कार्यक्रमसमेत रहेकाले गण्डकीमा युवा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उल्लेख गरे।
कार्यक्रममा परिषद्की सदस्य एवं कार्यक्रम संयोजक निर्मला बरालले अनुशासित नागरिक उत्पादन गर्न खेलकुदको भूमिका रहेको जनाउँदै खेल शिक्षक लक्षित प्रशिक्षणले विद्यालयमा प्रतियोगिता आयोजना गर्न सहज हुने बताइन्।
गण्डकी प्रदेश कबड्डी संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कबड्डी संघका सचिव हरि जिसीले समेत आफ्ना भनाइ राखेका थिए।
प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न ११ जिल्लाका ३० खेल शिक्षकहरूको सहभागिता रहेको सचिव जिसीले जानकारी दिएका छन्।








