आईसिसी टी–२० विश्वकप क्रिकेटमा श्रीलङ्काले सान्त्वना जित हात पारेको छ।
डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई ८३ रनले हराउँदै सान्त्वना जित हात पारेको हो।
श्रीलङ्काले दिएको २०२ रनको लक्ष्यसहित मैदान उत्रेको नेदरल्यान्ड्सले निर्धारित ओभरको १६.४ बल खेल्दै सबै विकेट गुमँएर ११८ रन मात्रै बनाउन सक्यो।
नेदरन्यान्ड्सका लागि मिचेल लेभिट्ट र कप्तान स्कट इडवाड्र्सले सर्वाधिक ३१/३१ रनको पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। त्यसबाहेक अन्य खेलाडीले खासै रन जोड्न सकेनन्।
नेदरल्यान्ड्सलाई जितबाट रोक्न श्रीलङ्काका नुआन तुसाराले सर्वाधिक ३ विकेट लिए भने मथिसा पाथिराना र वानिन्दु हसाराङ्गाले समान २÷२ विकेट हात पारे। महिस थिकसना र दासुन सङ्काले समान १/१ विकेट हात पारे।
आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको श्रीलङ्काले निर्धारित ओभरमा ६ विकेट गुमाएर २०१ रन बनायो। यो रन स्कोर जारी सिजनकै सबैभन्दा उच्च हो।
श्रीलङ्काका लागि कुशल मेन्ड्सि र चरिथ अशालांकाले समान ४६/४६ रनको योगदान गरे भने धनञ्जय डी सिल्भाले ३४ रन बनाउँदा एंगलो म्याथ्यूजले ३० रनको जोडे। वनिदु हसारांगाले २० रन जोडे।








