जुम्ला । स्वास्थ्य संस्थाको विस्तार र स्थानीयस्तरमै प्राथमिक स्वास्थ्य सेवा उपलब्ध हुन थालेसँगै जिल्लाको जनस्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको छ । गाउँगाउँमा स्वास्थ्य संस्था पुगेपछि सामान्य स्वास्थ्य समस्या लिएर उपचारका लागि टाढा जानुपर्ने नागरिकको बाध्यता घटेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित ७० वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । जिल्लामा एक प्राथमिक स्वास्थ्य केन्द्र, २९ स्वास्थ्य चौकी, २७ आधारभूत स्वास्थ्य सेवा केन्द्र, ११ सामुदायिक स्वास्थ्य एकाइ र एक सहरी स्वास्थ्य केन्द्र रहेका छन् । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न ६० वटै वडामा पाँच सय ३७ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माका अनुसार जटिल प्रकृतिका बिरामीबाहेक अधिकांश सामान्य स्वास्थ्य समस्या भएका नागरिकले गाउँमै प्राथमिक उपचार पाउने अवस्था बनेको छ । स्वास्थ्य समस्या देखिएपछि समयमै स्वास्थ्य संस्थामा पुग्ने नागरिकको प्रवृत्तिसमेत बढेकाले समग्र स्वास्थ्य अवस्थामा सकारात्मक प्रभाव परेको उनले बताए । जुम्लाको कुल जनसङ्ख्या एक लाख १९ हजार एक सय ८८ रहेको छ ।
जिल्लामा प्रजनन उमेर समूहका महिला ३४ हजार पाँच सय ५३ अनुमानित गर्भवती दुई हजार सात सय ४६, पाँच वर्षमुनिका बालबालिका ११ हजार एक सय २८ र दुई वर्षमुनिका बालबालिका चार हजार ६ सय ७ जना रहेका छन् । जिल्लाको स्वास्थ्य अवस्था २६ वटा प्रमुख सूचकका आधारमा मूल्याङ्कन हुने गरेको छ । अधिकांश सूचक सुधारोन्मुख भए पनि स्वास्थ्यकर्मीको दरबन्दी, सीप तथा क्षमता विकास, मातृ मृत्युदर न्यूनीकरण, किशोरी प्रजनन दर घटाउने र घरमै हुने प्रसूति कम भएकाे छ ।









