२०८३ भदौ ३० , मंगलबार

शुल्क वृद्धि फिर्ताको माग गर्दै सुर्खेत बहुमुखी क्याम्पसमा आन्दोलन



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको सुर्खेत बहुमुखी क्याम्पसमा गरिएको शुल्क वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनसहित विद्यार्थीहरूले आकर्षणपत्र बुझाएका छन् । शुल्क वृद्धि फिर्ता गर्न पटक–पटक ध्यानाकर्षण गराउँदा पनि क्याम्पस प्रशासनले विद्यार्थीका मागप्रति बेवास्ता गरेको भन्दै मंगलबार विद्यार्थीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा विज्ञप्ती बुझाएका हुन् ।

कर्णालीका विभिन्न जिल्लाबाट अध्ययनका लागि आउने विद्यार्थीमध्ये अधिकांश सामान्य तथा आर्थिक रूपमा कमजोर परिवारका रहेको भन्दै विद्यार्थीहरूले पछिल्लो शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् । विद्यार्थीका अनुसार क्याम्पस प्रशासनसँग पटक–पटक अनुरोध तथा छलफलको प्रयास गरिए पनि समस्या समाधानका लागि अहिलेसम्म प्रभावकारी छलफल अघि बढाइएको छैन ।

क्याम्पसले B.Ed को शुल्क सात हजार पाँच सय सयबाट बढाएर नाै हजार, BBS को नाै हजारबाट ११ हजार पाँच सय, B.Ed Science को १३ हजार पाँच सयबाट १६ हजार तथा BICTE को २२ हजार पाँच सयबाट २५ हजार रुपैयाँ पुर्‍याएको विद्यार्थीहरूले बताएका छन् । विद्यार्थी नेता भरत शाही ठकुरीले विद्यार्थीको आर्थिक अवस्थालाई बेवास्ता गर्दै गरिएको शुल्क वृद्धि कुनै हालतमा स्वीकार्य नहुने बताए । उनले विद्यार्थीको जायज माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिए ।

विद्यार्थीहरूले शुल्क वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । उनीहरूले खाली आश्वासन नभई निर्णय र प्रतिबद्धता नभई शुल्क वृद्धि फिर्ता गर्नुपर्ने माग गरेका छन् । विद्यार्थी नेताहरूले शुल्क वृद्धिले विद्यार्थीमाथि थप आर्थिक भार सिर्जना गरेको भन्दै प्रशासनलाई तत्काल निर्णय सच्याउन आग्रह गरेका छन् । साथै, विद्यार्थी संगठन तथा स्ववियुको भूमिकालाई कमजोर बनाएर विद्यार्थीमाथि मनपरी शुल्क थोपर्न खोजिएको आरोपसमेत लगाएका छन् । उनीहरूले क्याम्पस प्रशासनले समयमै विद्यार्थीको आवाज सम्बोधन नगरे आन्दोलन थप निर्णायक बनाउने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार