हुम्ला । नेपाल–चीन सीमा सुरक्षा, व्यापार सहजीकरण तथा सीमावर्ती क्षेत्रका विभिन्न विषयमा छलफल गर्न हुम्लाको टोली चीनको ताक्लाकोट पुगेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँको नेतृत्वमा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधि सम्मिलित टोली चीनको पुराङ काउन्टीस्थित ताक्लाकोट पुगेको हो ।
चीनको पुराङ काउन्टीको स्थानीय प्रशासनको निमन्त्रणामा आयोजना गरिएको अनौपचारिक सीमा सुरक्षा छलफल कार्यक्रममा सहभागी हुन टोली ताक्लाकोट पुगेको प्रमुख जिल्ला अधिकारी गुरागाईँले जानकारी दिए । कार्यक्रममा नेपाल–चीन सीमा क्षेत्रमा देखिन सक्ने सुरक्षा चुनौती, अपराध नियन्त्रण तथा दुई देशबीचको समन्वय र सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।
टोलीमा प्रमुख जिल्ला अधिकारी गुरागाईँसँगै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउद, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्का, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख मेघराज कँडेल तथा नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा सहभागी छन् ।
टोली स्थलमार्ग हुँदै नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ, नारा लेक र हिल्सा नाका पार गरेर ताक्लाकोट पुगेको हो । छलफलमा सीमा क्षेत्रमा हुने सम्भावित अपराध नियन्त्रण, सीमावर्ती व्यापार तथा आवतजावतमा सहजीकरण, हुम्लाका नागरिकलाई कैलाश मानसरोवर यात्रामा सहजता प्रदान गर्ने विषयलाई प्राथमिकताका साथ उठाइनेछ ।
साथै, नेपाल–चीनबीच नियमित सीमा सुरक्षा बैठक आयोजना गर्नुपर्ने तथा आपसी सूचना आदानप्रदान र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने जनाइएको छ । यसैबीच चीनको पुराङ काउन्टी र हुम्लाको नाम्खा गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने विषयमा विशेष प्रस्तावमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले बताए । सीमा क्षेत्रमा हुनसक्ने विपद् तथा जोखिम न्यूनीकरणका विषयमा समेत दुवै पक्षबीच अनुभव र जानकारी आदानप्रदान गरिने कार्यक्रम रहेको छ ।









