दैलेख । बालविवाह न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सञ्चालन भइरहे पनि दैलेखमा २० वर्षमुनि प्रसूति हुने किशोरीको सङ्ख्या अपेक्षाअनुसार घट्न सकेको छैन । जिल्ला अस्पताल दैलेखको पछिल्लो चार आर्थिक वर्षको तथ्याङ्कले कम उमेरमै गर्भधारण र प्रसूतिको अवस्था अझै चुनौतीपूर्ण रहेको देखाएको छ ।
अस्पतालका अनुसार आव २०७९/८० मा पाँच सय ७० जना महिलाले प्रसूति सेवा लिएकामा २० वर्षमुनिका १५.४४ प्रतिशत थिए । आव २०८०/८१ मा कुल पाँच सय २२ प्रसूति भएकामा उक्त उमेर समूहको हिस्सा १५.५२ प्रतिशत पुगेको थियो । आव २०८१/८२ मा कुल ६ सय ४२ प्रसूति हुँदा २० वर्षमुनिका किशोरीको हिस्सा बढेर १८.३८ प्रतिशत पुगेको थियो ।
गत आव २०८२/८३ मा ६ सय ५८ जना प्रसूति भएकामा २० वर्षमुनिका प्रसूति १७.७८ प्रतिशत रहेको अस्पतालले जनाएको छ । पछिल्लो वर्ष केही कमी आए पनि चार वर्षको समग्र तथ्याङ्कले किशोरी प्रसूति दरमा अपेक्षित सुधार नभएको देखाउँछ । जिल्ला अस्पताल दैलेखका कार्यालय प्रमुख डा. मनोजकुमार विश्वकर्माले कम उमेरमा विवाह र असुरक्षित यौनसम्पर्कका कारण किशोरीहरू शारीरिक रूपमा पूर्ण परिपक्व नहुँदै गर्भवती हुने समस्या रहेको बताए ।
कम उमेरमा गर्भधारण र प्रसूति हुँदा आमा तथा शिशु दुवैमा स्वास्थ्य तथा पोषणसम्बन्धी जोखिम बढ्न सक्ने उनकाे भनाइ छ । अस्पतालको पोषण पुनस्र्थापना केन्द्रमा पाँच वर्षमुनिका ५६ जना शीघ्र कुपोषित बालबालिकाको उपचार गरिएको छ भने एक सय ३६ जना शीघ्र कुपोषणका बिरामी पहिचान भएका छन् ।
महिला अधिकारकर्मी सुनिता चन्दले बालविवाह रोकथामका नाममा हुने कार्यक्रमको प्रभावकारिता र खर्चको परिणामबारे नियमित समीक्षा आवश्यक रहेको बताए । उनका अनुसार बजेट खर्चभन्दा उपलब्धि र व्यवहार परिवर्तनलाई आधार बनाएर अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।









