२०८३ भदौ ३० , मंगलबार
फ्रन्ट पेज

कालोपत्रे सडकले फेरिँदै गाउँको दैनिकी

यसअघि वर्षायाममा हिलो र हिउँदमा धूलोका कारण यातायात तथा स्थानीयको जनजीवन प्रभावित हुँदै आएको थियो । सडक सुधारसँगै बजार, विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयसम्मको पहुँच सहज हुनुका साथै कृषि उपज बजारसम्म पु¥याउन समय र लागत घटेको स्थानीयको भनाइ छ ।


सुर्खेत । केही वर्षअघिसम्म थारमारे–बडागाउँ–रागेचौर–चौरजहारी सडकमा यात्रा गर्नु स्थानीयका लागि सहज थिएन । वर्षायाममा सडक हिलाम्मे भएर सवारीसाधन बीच बाटोमै फस्ने र हिउँदमा धूलो उड्ने समस्या सामान्य थियो । सडकछेउका घरका झ्याल–ढोका बन्द गर्नुपर्ने अवस्था थियो भने धूलोका कारण खेतबारी, पसल तथा दैनिक जीवनसमेत प्रभावित हुने गरेको थियो ।

तर अहिले त्यही सडकको ठूलो हिस्सा कालोपत्र भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आउन थालेको छ । सडक सहज बनेसँगै यातायात नियमित हुन थालेको छ भने बजार, विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयसम्मको पहुँच पनि सहज भएको स्थानीय बताउँछन् ।

थारमारेदेखि कुमाख गाउँपालिका–५ चिसापानीसम्म करिब ३२ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी खण्डमा समेत निर्माणको काम जारी छ । दशकौंदेखि कच्ची सडकको सास्ती खेप्दै आएका स्थानीय अहिले सहज र सुरक्षित यात्राको अनुभव गर्न थालेका छन् । यो सडक २०६२/०६३ सालमा ट्रयाक खुलेपछि सञ्चालनमा आएको थियो । त्यसयता सडक स्तरोन्नतिको चर्चा पटक–पटक भए पनि अपेक्षित गतिमा काम अघि बढ्न सकेको थिएन ।

वर्षौंसम्म सडक कच्ची अवस्थामै रहँदा वर्षायाममा यातायात अवरुद्ध हुनु सामान्यजस्तै बनेको थियो। बिरामी बोकेका एम्बुलेन्सदेखि दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधनसम्म हिलोमा फस्ने गरेका थिए । हिउँदमा भने धूलोका कारण पैदलयात्रु, विद्यार्थी र सडकछेउका बासिन्दाले समस्या भोग्दै आएका थिए ।

कुमाख गाउँपालिका–६ बडागाउँका स्थानीय लालबहादुर विकका अनुसार पहिले सडकको अवस्था खराब हुँदा छोटो दूरी पार गर्न पनि धेरै समय लाग्थ्यो । सडक कालोपत्र भएपछि यात्रा सहज हुनुका साथै धूलोको समस्या हटेको र गाउँको दैनिकी सहज बनेको उनले बताए । ‘वर्षामा हिलो र हिउँदमा धूलोले हैरान बनाउँथ्यो । बर्खा लाग्यो कि गाडी चल्दैनथ्यो,’ उनले भने, ‘अहिले त हाम्रो जिन्दगी नै फेरिएको छ ।’

बडागाउँकी रुपकला शर्माले सडक सुधारसँगै बजार, विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयसम्म पुग्न सहज भएको बताइन् । पहिले वर्षा लागेपछि कतिपय दिन सवारीसाधन नै नचल्ने अवस्था रहेको भन्दै उनले अहिले नियमित रूपमा गाडी चल्न थालेको बताइन् । घरआँगनमै नियमित गाडी चढ्न पाउँदा किनमेलदेखि गाउँमा उत्पादित वस्तु बजारसम्म पु¥याउनसमेत सहज भएको उनको भनाइ छ ।

स्थानीय पुष्कर पन्थ सुनारका अनुसार सडक कालोपत्र भएपछि गाउँमा उत्पादन भएका आलु, सुन्तला, तरकारीलगायत कृषि उपज बजारसम्म पु¥याउन लाग्ने समय र लागत घटेको छ । यसअघि सडक बिग्रिएका कारण किसानले उत्पादन समयमै बजार पु¥याउन नसक्ने समस्या थियो।

अहिले सवारीसाधन नियमित सञ्चालन हुन थालेपछि बजारसँगको पहुँच बढेको उनले बताए । सडक सुधारले महिलाको दैनिकीमा समेत सहजता ल्याएको स्थानीय कल्पना विक बताउँछिन् । स्वास्थ्य सेवा लिन, बालबालिकालाई विद्यालय पु¥याउन तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न पहिलेभन्दा धेरै सुविधा भएको उनले बताइन् ।

यातायात व्यवसायीका लागि पनि सडक स्तरोन्नतिले राहत दिएको छ । सवारीचालक प्रवेश रावतका अनुसार सडकको अवस्था सुधारिएपछि यात्राको समयसँगै सवारी सञ्चालन लागतसमेत घटेको छ । ‘पहिले सडक बिग्रिएका कारण गाडीमा पटक–पटक मर्मत गर्नुपथ्र्यो,’ उनले भने, ‘अहिले इन्धनको खपत कम भएको छ र सवारी पनि सुरक्षित रूपमा सञ्चालन गर्न सकिन्छ ।’

थारमारे–बडागाउँ–रागेचौर–चौरजहारी सडक सल्यानलाई रुकुम पश्चिमको चौरजहारीसँग जोड्ने महत्वपूर्ण सडक हो । सडक सञ्चालन सहज बन्दै गएपछि दुई जिल्लाबीचको आवागमनसँगै व्यापारिक गतिविधिसमेत विस्तार हुन थालेको स्थानीयको भनाइ छ। सडक पूर्ण रूपमा कालोपत्र भएपछि

कृषि उत्पादनको बजार पहुँच बढ्ने, स्थानीय व्यापार विस्तार हुने र ग्रामीण अर्थतन्त्रमा थप गतिविधि सिर्जना हुने अपेक्षा गरिएको छ ।
कर्णाली प्रदेश सरकारले २०७७ सालदेखि पूर्वाधार विकास कार्यालय सल्यानमार्फत थारमारेको जिरो प्वाइन्टबाट सडक कालोपत्रको काम सुरु गरेको हो । सडकलाई चार वटा प्याकेजमा विभाजन गरी ठेक्का व्यवस्थापन गरिएको थियो । चिसापानी नजिकसम्मको अधिकांश काम सम्पन्न भइसकेको छ ।

पूर्वाधार विकास कार्यालय सल्यानका सूचना अधिकारी सिद्धार्थ मिश्रका अनुसार निर्माण कम्पनीले सडकको अन्तिम चरणको काम गरिरहेको छ । केही स्थानमा नाली, पर्खाल, सडक सुरक्षासम्बन्धी संरचना तथा फिनिसिङको काम बाँकी रहेकाले आगामी मंसिरभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । उनका अनुसार सडक निर्माण सम्पन्न भएपछि सल्यान र रुकुम पश्चिमबीचको यातायात थप सहज हुने तथा व्यापारिक गतिविधि विस्तारसँगै ग्रामीण क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्नेछ । यद्यपि सम्पूर्ण सडक कालोपत्र हुन अझै केही समय लाग्ने देखिएको छ ।

कुमाख गाउँपालिकाको रागेचौर, स्यानीपिप्ली हुँदै रुकुम पश्चिमको चौरजहारीसम्मको बाँकी खण्डमा सडक डिभिजन कार्यालय चौरजहारी र सडक डिभिजन कार्यालय दाङमार्फत निर्माण कार्य भइरहेको छ । जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असबिर बुढाथोकीले पूरै सडक कालोपत्र भएपछि जिल्लाका ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापारका क्षेत्रमा थप अवसर सिर्जना हुने बताए ।

वर्षौंसम्म कच्ची सडकका कारण सास्ती खेपेका स्थानीयका लागि कालोपत्र सडक केवल सहज यातायातको माध्यम मात्र बनेको छैन, यो गाउँको आर्थिक गतिविधि र दैनिक जीवन परिवर्तन गर्ने आधारसमेत बन्दै गएको छ । बाँकी सडक खण्डको कामसमेत समयमै सम्पन्न गर्न सके थारमारेदेखि चौरजहारीसम्मको यात्रा थप सहज, सुरक्षित र भरपर्दो बन्नेछ ।

 

प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार