डोल्पा । जिल्लाकाे ठुलीभेरी नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरबाट स्थानीयवासी लाभान्वित भएका छन् । जिल्ला अस्पताल दुनैमा गरिएको शल्यक्रियामा ४० जना मोतिबिन्दुका बिरामीसहित ४५ जनाको आँखासम्बन्धी विभिन्न समस्याको सफल उपचार गरिएको छ । शल्यक्रिया गरिएकामध्ये चार जनाको आँखामा पलाएको मासु तथा बोसो र एक जनाको अन्य आँखासम्बन्धी समस्याको उपचार गरिएको हो ।
यसअघि ठुलीभेरी नगरपालिकाले नगरका सबै वडामा मोतिबिन्दु पहिचानका लागि भदौ १८ देखि २५ गतेसम्म छनोट शिविर सञ्चालन गरेको थियो । छनोट शिविरमा ४९१ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा मोतिबिन्दुको शल्यक्रिया आवश्यक देखिएका ४२ जना तथा मासु र बोसो पलाएका नौ जनासहित ५१ जनालाई जिल्ला अस्पताल दुनैमा शल्यक्रियाका लागि सिफारिस गरिएको थियो । तीमध्ये आवश्यक परीक्षणपछि ४५ जनाको शल्यक्रिया गरिएको हो ।
शिविरका क्रममा करिब एक सय ७० जनालाई नजिकको दृष्टि सुधारका लागि निःशुल्क चस्मासमेत वितरण गरिएको आयोजकले जनाएको छ । प्रतिकूल मौसमका बाबजुद नगरपालिकाका सबै वडामा शिविर सञ्चालन गरिएको जनस्वास्थ्य निरीक्षक राजनकुमार डाँगीले बताए । स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. सिजन रावलले शिविरले ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराएको बताए ।
उनले यस्ता सेवा जिल्लाका अन्य स्थानीय तहमा समेत विस्तार गर्न सम्बन्धित निकायलाई आग्रह गरे । ठुलीभेरी नगरपालिकाका नगर प्रमुख स्वर्णकुमार बुढाले आफ्नै जिल्लामा निःशुल्क शल्यक्रिया सेवा पाएपछि ज्येष्ठ नागरिक तथा अन्य बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घटेको बताए । उनले शिविर सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरे ।









