जाजरकाेट । नलगाड नगरपालिका एक र दुईको सीमामा पर्ने बौलाह खोलामा आएको बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ । गएराति परेको अविरल वर्षापछि खोलामा आएको बाढीले बैरीताल क्षेत्रमा व्यापार तथा व्यवसाय सञ्चालन गर्दै आएका स्थानीयका घर, पसल र अस्थायी टहरा बगाएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीरकुमार खड्काका अनुसार बाढीबाट आठ जना व्यवसायीका संरचनामा क्षति पुगेको छ ।
बाढीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बाढीले मानबहादुर विकको तीन कोठे टहरा पूर्ण रूपमा बगाएको छ । त्यस्तै बबिता महराको किराना पसलसहितको अस्थायी टहरा, कृष्ण महराको एक कोठे टहरा, मेघराज कुमाईको कुखुराको दाना राख्ने टहरा तथा नन्दे महराको कपडा पेल्ने मेसिनसहितको संरचनामा क्षति पुगेको छ ।
बलबहादुर विकको किराना पसल रहेको टहरा पनि बाढीले बगाएको छ । जनक भण्डारीको फ्रेस हाउससहितको अस्थायी टहरा र त्यहाँ रहेका करिब एक सय वटा बोइलर कुखुरा बाढीले बगाएर पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । यसैगरी दले कामीको किराना पसलमा हिलो तथा पानी पसेर आंशिक क्षति पुगेको छ ।
छवि महराको अटो हिलोपानीमा पुरिएको छ भने हिरालाल घर्तीको ट्याक्टरसमेत माटोले पुरिएर क्षतिग्रस्त भएको छ । सत्यदेव चनाराको पानीघट्ट पनि बाढीले पूर्ण रूपमा बगाएको छ । बाढीपछि प्रहरीले क्षतिको विवरण सङ्कलन गर्नुका साथै अवरुद्ध सडक खुलाउने तथा प्रभावित क्षेत्रमा आवश्यक उद्धार र व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ । स्थानीयले वर्षायाममा खोलाको जोखिम बढ्दै गएकाले दीर्घकालीन तटबन्ध तथा सुरक्षित संरचना निर्माण गर्न माग गरेका छन् ।









