सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन दिनेश प्रजापति ७ अन्डर ६५ को स्कोरमा शीर्ष स्थानमा छन्। उनले तोरणविक्रम शाही र एमेच्योर सुमन परियारलाई एक स्ट्रोकले पछि पारे।
गोकर्ण गल्फ क्लबमा मंगलबार तोरण र सुमनले ६ अन्डर ६६ को स्कोरमा संयुक्त रूपमा दोस्रो स्थान बाँडे। डिफेन्डिङ च्याम्पियन सुवास तामाङ, भुवन नगरकोटी र एमेच्योर सद्भाव आचार्य ४ अन्डर ६८ सहित संयुक्त रूपमा चौथो स्थानमा रहे। ३ अन्डर ६९ को स्कोरमा एमेच्योर विजय श्रेष्ठ आइन्हाउस सातौं र अर्का एमेच्योर वाङचेन ढोन्डुप २ अन्डर ७० सहित आठौं स्थानमा छन्। १ अन्डर ७१ स्कोर खडा गरेका रवि खड्का, नीरज तामाङ, धनबहादुर थापा र सञ्जय लामा तथा एमेच्योर तेन्जिङ पाल्देनले संयुक्त रूपमा नवौं स्थान बाँडे।
पहिलो दिन उत्कृष्ट स्कोर निकाल्ने क्रममा दिनेशले बोगीरहित ७ अन्डरको स्कोर बनाए। ७ बर्डी प्रहार गरेका दिनेशले सुरुवात राम्रो गरे। दोस्रो, तेस्रो, चौथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन ४ अन्डर ३२ मा सकाए। यसपछि ब्याक नाइनमा पनि यही लयलाई निरन्तरता दिए। १३औं, १४औं र १७औं होलमा पनि एक–एक सर्ट बचाए। उनले ब्याक नाइन ३ अन्डर ३३ मा पूरा गरे। तोरणले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए। दोस्रो होलमा एक सट खेर फाले भने तेस्रो होलमा बर्डी प्रहार गरे। यसपछि ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे। १०औं, १३औं, १५औं र १७औं होलमा बर्डी प्रहार गरे। ५ पारको पाँचांै होलमा इगलको सफलता हात पार्दै ब्याक नाइन ६ अन्डर ३० मा सकाए।
एमेच्योर सुमनले उत्कृष्ट सुरुवात गर्दै फ्रन्ट नाइन ५ अन्डर ३१ मा सकाए। उनले तेस्रोदेखि छैटौं होलमा लगातार चार बोगी प्रहार गरे। आठौं होलमा पनि एक सर्ट बचाए। यसपछि दशौं होलमा एक सट खेर फाले भने ११औं र १३औं होलको बर्डीले ब्याक नाइन १ अन्डर ३५ मा सकाए।








