२०८३ साउन १ , शुक्रबार

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौँ: अर्थमन्त्री



अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन्।

शनिबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) अछाम-काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै उनले बजेटमा कृषि, पर्यटन, जलविद्युत, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउने क्षेत्रका रुपमा अघि सारिएको जिकिर गरे।

‘सात प्रदेशका सात वटा विशेषता छुट्टाएका छाैं। सुदूरपश्चिमलाई पर्यटकीय हबको रुपमा विकास गर्नुपर्छ भनेर लगानी कर्तालाई आह्वान गरेका छौँ। एउटा प्रदेशले एउटा विशेषतामा लैजाने भन्ने किसिमबाट बजेट प्रस्तुत गरेका छाैँ।’ उनले भने।

सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको उनको भनाइ थियो। ‘हामी केही मानिस धनी हुने मात्रै नभई समानतातिर लैजाने किसिमले उत्पादनमा केन्द्रित छौँ। भ्रष्टाचार लगायत विभिन्न खालका विकृति नियन्त्रण गरेर मात्रै सुशासन स्थापित गर्नसक्छाैं।’ उनले भने।

समाजको नैतिक धरातललाई नबिर्सीकन काम गर्दा समाज र देश समृद्ध बन्ने उनले धारणा राखे।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिबार