प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको निर्वाचनमा कांग्रेसलाई एकल बहुमत ल्याउन सक्ने गरी तयार गर्नुपर्नेमा जोड दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एक ढिक्का बनाएर कांग्रेसलाई अघि बढाउन सके एकल बहुमतसहितको पाँच वर्ष ढुक्कले सरकार बनाउन सकिने जिकिर गरे।
उनले भने ‘हामी भित्र केही सुधार चाहिएको छ। हामी भित्र केही फोहोर सफा गर्नुपर्नेछ। हामी भित्र माया, प्रेम चाहिएको छ। सबै कुरा मिलाउनुपर्नेछ, मिलाऔं। यो सबै कुरालाई मिलाएर एक ढिक्का बनाएर, तपाईंहरुको माया, प्रेम यो सबै कुरालाई तागत बनाएर यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशत भन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टी बनाउन सक्छौं।’
उनले त्यसका लागि पार्टी भित्रको एकता आवश्यक रहेको बताए। नेपाली कांग्रेस बिपी, गणेशमान, किसुनजीको पार्टी भएकाले पनि आगामी निर्वाचनमा बलियो शक्ति बनाउन सम्भव रहेकोमा महामन्त्री थापाले जोड दिए। उनले कांग्रेसले सरकारमा नरहेर पनि जनताको सेवामा निरन्तर लाग्नुपर्ने जनाए।








