दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–१ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धङ्के डडालको मृत्यु भएको हो।
शनिबार नौगाड गाउँपालिका–१ लक्सेरीका ४५ वर्षीय जयसिंह डडालले मल्लासेली वनमा सिकार खेल्ने क्रममा बन्दुक पड्काएकाेमा गोली धङ्केकाे टाउकोमा लाग्न पुगेको थियो।
गम्भीर घाइते उनकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
स्थानीयका अनुसार जयसिंहले सोही वनमा पासो थापिरहेका थिए। गोली हान्ने जयसिंहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति : २०८१ असार ९ गते शनिबार








