२०८३ साउन १ , शुक्रबार

कांग्रेसले सरकार ढालिरहनु पर्दैन, आफै ढल्छ: डा. कोइराला



नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकारलाई कांग्रेसले ढालिरहनु नपर्ने बताएका छन्। शनिबार विराटनगरमा नेपाल मुस्लिम संघ मोरङको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै डा. कोइरालाले अहिलेको सरकारलाई कांग्रेसले ढालिरहनु नपर्ने, आफै ढल्ने बताएका हुन्।

‘पाकेको फललाई झार्नु नपरेजस्तै अहिलेको सरकारलाई पनि कांग्रेसले ढालिरहनु पर्दैन। आफैं ढल्छ’ डा. कोइरालाले भने।

उनले ०८४ को निर्वाचनमा कांग्रेसले कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने दाबी गरे। कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै निर्वाचन लड्ने भएकाले त्यस अनुसारको तयारीमा जुट्न कार्यकर्ताहरूलाई आग्रह पनि गरे।

उनले भने ‘कांग्रेसले आगामी निर्वाचनमा आन्तरिक एकता बलियो बनाउँदै कसैसँग गठबन्धन नगरी एक्लै निर्वाचन लड्ने भएकाले तपाईंहरू त्यही अनुसारको तयारीमा जुट्नुस्।’

डा. कोइरालाले अस्थिर राजनीतिले देशलाई चौतर्फी समस्यामा पारिरहेको बताए। डा. कोइरालाले नेपालका मुस्लिम समुदाय शिक्षामा पछि परेकाले शिक्षामा जोड दिन आवश्यक रहेको भन्दै राजनीतिक नेतृत्वमा पुग्न मुस्लिम समुदाय अग्रसर हुन आवश्यक रहेको बताए।

उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले सहमति भए सहमतिका आधारमा, नभए निर्वाचनबाट मुस्लिम संघ मोरङ जिल्लाको नेतृत्व छान्न कार्यकर्ताहरूलाई निर्देशन दिए।

कार्यक्रममा नेपाल मुस्लिम संघका संस्थापक सभापति तथा कांग्रेस केन्द्रीय सदस्य अब्दुल सतारले अधिकार मागेर नभई खोसेर लिनुपर्ने भएकाले एकजुट हुन मुस्लिम समुदायलाई आग्रह गरे।

सत्तारले मुस्लिम समुदायलाई जनसंख्याका आधारमा हरेक निर्वाचनमा सिट सुरक्षित गर्न पार्टीको नृतत्वसँग माग गरे।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला, नेपाल मुस्लिम संघका अध्यक्ष अतावुल मन्सुरी, नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता लगायतले शुभकामना मन्तव्य राख्दै मुस्लिम समुदायलाई राज्यको मूलधारमा ल्याउन आवश्यक रहेको धारणा राखे।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिबार