राजनीति शास्त्री कृष्ण पोखरेलको संस्मरणात्मक पुस्तक ‘फर्केर हेर्दा’ सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वसांसद कमल कोइराला, प्रा. कृष्ण खनालसहितका विशिष्ठ व्यक्तिहरूले पुस्तक सार्वजनिक गरेका हुन्।
पोखरेलले आफ्नो जीवनका आरोह अवरोहका साथै झापा विद्रोहको बेला पार्टीलाई लेवि तिर्ने गरेको र झापामा शिक्षण पेशामा छँदा सिपी मैनालीलाई पञ्चायत शिक्षा पढाएको जस्ता विषयहरू पुस्तकमा समेटिएको छ।
शिखा बुकले प्रकाशन गरेको ३ सय ३२ पृष्ठको उक्त पुस्तकका लेखक पोखरेलले पार्टीहरुको तलतल मेट्न जनवर्गीय संगठनको व्यवस्था गरेको भनेर पढाएको बेला चुरोटको तलतल मेट्न खैनी खाएजस्तै रैछ भनेर सिपी मैनालीले भनेको पनि सुनाए।
झापा विद्रोहबारेमा बुझ्न पुस्तक उपयोगी हुने बताउँदै कार्यक्रममा कृष्ण खनालले भने, ‘झापा आन्दोलनमा मेन्टरिङ दिनु भएको भन्ने बुझाइ थियो तर पुस्तकले त्यसको खण्डन गर्छ।’
कार्यक्रममा पूर्व सांसद कोइराला, पूर्वन्यायाधीश मोहनप्रसाद सिटौलासहितकाले पुस्तकबारे चर्चा गरेका थिए। पुस्तकको मूल्य ६७५ रहेको छ।








