२०८३ साउन १ , शुक्रबार

ईश्वर पनि हाम्रो गरीबीमा चरम राजनीति गर्छ!



१) अन्याय

ईश्वर पनि

हाम्रो गरीबीमा

चरम राजनीति गर्छ!

नत्र

हामीलाई दास बनाएर

किन-

आफू नैवेद खान्छ

र,

हाम्रो भोकमा निशब्द बस्छ?

२) अहम्

हेर्न चाहन्थें

अरूको अनुहार!

जब एकदिन

ऎनाले भन्यो-

पहिले आफ्नो अनुहार हेर।

चुपचाप

अहिले आफ्नो अनुहार हेर्छु।

जहाँ-

अनुहार कम र अहम् बढी देख्छु।

४) समयको उकालो

आँखाबाट

चिप्लेटी खेलेर

शीतझैं तप्पतप्प झरिरहन्छ समय!

म घडीका

काँटामा दुख उनेर

एक अँगालो खुशी खोज्न

घामका पञ्जा टेकेर

तिम्रो करङलाई भर्‍याङ बनाएर

उक्लिरहेको छु

दुखको कहालीलाग्दो उकालो

५) समय

हिउँदमा तपाईं

खोलामाथि धावा बोल्नुहुन्छ!

बर्खामा खोलाले

तपाईंमाथि धावा बोल्छ!

शक्ति त केवल समयसँग हुन्छ।

६) परिस्थिति

उनीहरू

शौचालय बनाइदिएर गए।

म शौचालय प्रयोग गर्न नपाएर खिन्न छु।

मलाई शौचालय होइन

चाहिएको त खाने कुराको थियो।

७) प्रेमको फूल

बारम्बार

रगतपच्छे बनिरहन्छ यो मुटु!

भर्खर पनि

रगत पुछेर आएको छु तिमीसामु

किन दियौ

प्रेमको नाममा गुलाफको फूल?

८) क्रान्ति

तिमीले

महान् क्रान्ति घोषणा गर्‍यौ

जतिबेला

हाम्रा छोराछोरीलाई आफ्ना जस्तो देखेनौ

हामीले

तिम्रा छोराछोरीलाई आफ्नैँ जस्तो देख्यौं

र त-

तिम्रा छोराछोरी जिउँदै छन्

हाम्रा छोराछोरी वर्षौदेखि बेपत्ता छन्।

९) तिम्रो आँखा

संसारमा

सबैभन्दा गहिरो कुनै ठाउँ छ भने

म शीघ्र उत्तर भनिदिन्छु-

तिम्रो आँखा!

डुब्नका लागि

कुनै कहालीलाग्दो खोंच

वा,

विशाल समुन्द्र नै नचाहिंदो रहेछ

मलाई तिम्रो आँखाको नीलो गहिराइ

विशाल समुद्रभन्दा पनि

निकै खतरनाक लाग्छ।

१०) दाग

भर्खर

तिम्रो सिउँदोमा निर्धक्क दाग्यो कसैले एक थान गोली!

रातो देखियो तिम्रो सिउँदो

अब जीवनभर-सिउँदोमा रातो दाग बोकेर

तिमी बाँच्नुपर्ने छ

म अभागी हुँ कि, हौ तिमी अभागी!

समयका शान्त आँखाले कतै बसेर

हेर्नु छ चुपचाप तिम्रो रूप!

प्रकाशित मिति : २०८१ असार १० गते आइतबार