आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अहिले सुपर ८ का खेलहरू जारी छन्। दुई समूहमा बाँडिएको सुपर ८ का खेल अन्तर्गतको खेल जारी रहँदा विभिन्न देशका खेलाडीहरूलाई खानासँग सम्बन्धित विभिन्न समस्याहरूको सामना गर्नु परिरहेको छ।
भारतीय क्रिकेट बोर्ड (बीसिसीआई) ले विश्वकपमा सहभागी जनाइरहेका आफ्ना खेलाडीहरूलाई चिसो खाना खानुपरेको गुनासो गरेको छ।
आईसिसीले विश्वकपमा सहभागी टीमका खेलाडीहरूको खानपानको जिम्मा लिएपनि वेवास्ता गरेको भन्दै बीसिसीआईले आफ्नै लगानीमा खानाको व्यवस्था सुरु गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
भारतीय खेलाडीहरूलाई अभ्यासको क्रममा चिसो खाना खानु परिरहेको गुनासो आएपछि बीसिसीआईले आफ्नै खर्चमा खानाको व्यवस्थापन सुरु गरेको हो। खेलाडीहरूलाई स्यान्डविच, चिकेन र सलाद दिने गरेकोमा त्योपनि चिसो हुँदा ताजा खानाको व्यवस्थापनमा बीसिसीआई आफै जुटेको हो।
त्यस्तै अफगास्तिानका खेलाडीहरूलाई पनि राम्रो खाना नपाएको गुनासो सुनिएको थियो। जसका कारण उनीहरूले आफैले खाना पकाएर खान सुरु गरेका छन्।
यसअघि पनि आईसिसीले आयोजना गर्ने विश्वकपका अन्य खेलमा खानासँग सम्बन्धित गुनासो सुनिदै आएको छ।








