२०८३ साउन १ , शुक्रबार

काठमाडौंमा सुनिए नन्दु उप्रेतीका कविता



नेपाली कविता लेखनमा लामो समयदेखि सक्रिय नन्दु उप्रेती एक चिनिएका कवि हुन्। जीवनप्रेम, राष्ट्रप्रेम, जनप्रेम, प्रकृतिप्रेमका भावहरू प्रकट गर्दै प्रगतिशील धाराको कविता लेख्ने उप्रेतीका एक दर्जन कविता शनिबार काठमाडौंमा गुञ्जिए।

वर्षौ वर्ष चाहेर र नचाहेर पनि

तिमीलाई मैसँग राखें

कहिले देखाएर राखें

कहिले नदेखाएर राखें

अब म सक्दिनँ तिमीलाई सँगै राख्न

धेरै वर्षअघि सहिद बनेर तस्विरमा बसेको

मेरो अतितको प्यारो साथी

झिकेर तिमीलाई भित्ताबाट

काँपिरहेका हातमा लिइरहेको छु

अब खै कता राखूँ? (सहिदलाई बिर्सने सहिदको साथी)

अब मूर्ति नबनाऊ मान्छेलाई

मूर्तिभन्दा मान्छे मान्छे नै भएको राम्रो

मान्छे मान्छे मान्छे हुँदै

युगयुगसम्म मान्छेमै सरिरहेको राम्रो। (मूर्तिको आवाज)

कार्यक्रममा कविले के थियो तिम्रो नाम, हतियारको आँसु, भर्खरै सुतेको मान्छे, पोखरीमा डबेको आकाश, प्रेयसीको सौन्दर्य, मूर्तिको आवाज, मेरो प्यारो काठमाडौं, सुनाखरी र लालीगुँरास एवं देशको नक्सा र मेरो बुबा’ गरी नौ कविता वाचन गरेका थिए।

कवि डाक्टर राजेन्द्रप्रसाद अधिकारीले सहिदलाई बिर्सने सहिदको साथी, पवित्रा सुवेदीले रजश्वला जीवनको ज्योति र अनुप उप्रेतीले हारिरहेका छोराछोरी कविता वाचेर कविलाई सहयोग गरेका थिए।

उप्रेतीका कविताहरूमाथि समीक्षा गर्दै वरिष्ठ समालोचक प्राज्ञ प्राध्यापक केशव सुवेदीले समाजका समस्या, देशका पीडा, जनताका दु:खसुख, प्रकृति प्रेम, मात्तृ विशिष्टता, परदेशिएका सन्तानका कथाव्यथा, नाम नलेखिएका योद्धाहरूप्रति सम्मान, युगचेतना र युगबोधको प्रस्तुति, सरलताभित्र बौद्धिकता, विचारको उत्कृष्टताका साथमा कलाको चमत्कारिकता उप्रेतीका कविताका गुण भएको बताएका थिए।

कविता लेखनमा ४ दशक यात्रा पार गरेका कवि उप्रेतीले उत्कृष्ट कविताहरू लेखे पनि अहिलेसम्म उनको कवितासंग्रह प्रकाशित नहुँदा नेपाली कविता साहित्यलाई नै नोक्सान भइरहेको विचार राख्दै उप्रेतीका बालसाहित्य, अनुवाद, नियात्रा साहित्य र साहित्य अनुसन्धानका आधा दर्जन कृति प्रकाशित भैसक्नुले उप्रेती बहुमुखी प्रतिभा रहेको पुष्टि भएको चर्चा समेत गरे।

सङ्घका अध्यक्ष कवि राम विनयको अध्यक्षतामा भएकाे कार्यक्रममा कविताप्रेमी बौद्धिक स्राेताहरूको बाक्लै उपस्थिति रहेको थियो।

प्रमुख अतिथि साहित्यकार एवं सांसद् रघुजी पन्तले नन्दु उप्रेतीका कविताले जीवनवादी विचार अँगालेको चर्चा गर्दै कविता एवं कुनै पनि साहित्यमा यो पार्टी वा ऊ पार्टीको आबद्धता आवश्यक नरहेको तर सही विचारको उपस्थिति साहित्यमा हुनुपर्ने विचार प्रकट गरेका थिए।

सङ्घका डा. हरिप्रसाद सिलवालले कविको साहित्य लेखनको चर्चा गर्दै कविको परिचय प्रस्तुत गरेका थिए भने रमेश पोखरेलले उप्रेतीका कवितामाथि संक्षिप्त विचार राख्दै धन्यवाद व्यक्त गरेका थिए। उनले प्रत्येक महिनाको दोस्रो शनिबार हुने एकल कविता वाचन अन्तर्गत साउनमा कवि डाक्टर राजेन्द्रप्रसाद अधिकारीलाई प्रस्तुत गर्ने जानकारी दिए।

प्रकाशित मिति : २०८१ असार १० गते आइतबार