नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन सरकार सँग माग गरेका छन्।
आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले चुरेको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुन नसक्ने भन्दै चुरे संरक्षणका लागि विरुवा रोप्ने अभियान नै शुरु गर्नुपर्ने बताए। उनले चुरे मानविय अतिक्रमणको दुष्चक्रमा परेको भन्दै चुरे दोहनलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताए।
चुरे संरक्षणको लागि निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुँदैन। चुरे दिवसको दिन एउटा बिरुवा रोपेर पनि चुरेको संरक्षण हुन सक्दैन। चुरेको संरक्षण गर्ने हो भने विरुवा रोप्ने अभियान सरकारले शुरु गर्नु जरुरी छ। सबै राजनीकि दलका कार्यकर्ताले विरुवा रोप्ने अभियान शुरु गर्नु जरुरी छ । एकै दिनमा हजारौँ बिरुवा रोप्न सक्यौँ, इलामदेखि कञ्चनपुरसम्म करोडौँ विरुवा रोप्न सक्यौँ भने मात्रै चुरेको संरक्षण हुन सक्छ। त्यसैले चुरे संरक्षणको विषयलाई सरकारले विशेष विषय बनाउनु जरुरी छ। वन तथा वातावरण मन्त्रालयले यसलाई विशेष ढंगबाट अगाडी बढाउनु जरुरी छ। चुरे संरक्षणको निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गरियोस्।’








