वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडीले नेपालको काठ मलेसियन भन्दा सस्तो पर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री सुडीले मन्त्रिपरिषद्बाट काठको मूल्य ३५ प्रतिशतले घटाउने निर्णय गरेकाले अब सस्तो पर्ने बताएका हुन्।
मन्त्री सुडीले भने, ‘यही एक दुई महिनाअन्तर्गत सबै नियम, कानुन बनाएर हाम्रो काठ मलेसियाको काठभन्दा महँगो पर्दैन।’
वन ऐन २०२९ प्रति आफू दृढ संकल्पित रहेको बताउँदै उनले भने यद्यपि ऐनलाई सुधार गर्नुपर्ने बताए। ‘जुन कानुन राजाको समयमा, पञ्चायती व्यवस्थाको समयमा बनेको त्यो कानुनले अहिले पनि वन मन्त्रालय सञ्चालन गर्नुहुन्छ। यो कतिसम्म जायज छ ?,’ सांसदमा प्रश्न उठाउँदै मन्त्री सुडीले भने,‘त्यसकारणले यो छिटोभन्दा छिटो संसदमा आउँछ। तर अल्पकालमा हामीले मन्त्रिपरिषद्बाट काठको मूल्य ३५ प्रतिशत पैसा घटाएको छौँ।’
४ वर्षदेखि नेपाली काठको एक पैसा पनि नआएका कारण काठको मूल्य घटाउनुपरेको उनले दाबी गरे। ‘म तपाईंहरूको विश्वास दिलाउन चाहन्छु कि सरकारले यसपालि ४ खर्ब रुपैयाँको काठ बेच्छ। र ४ खर्ब रुपैयाँ वन मन्त्रालयको आम्दानी हुन्छ,’ मन्त्री सुडीले भने।
उनले नेपालमा आवश्यक पर्ने काठ नेपालकै प्रयोग गर्नुपर्ने विदेश काठ उपयोग नगर्ने नीति लिनुपर्ने बताए।








