कैलाली । कैलाली भन्सार कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिनामा रु पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ । साउनदेखि फागुन मसान्तसम्म उक्त रकम सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार सङ्कलित राजस्वमध्ये भन्सार महसुलतर्फ रु दुई अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब सात करोड ५९ लाख, अन्तःशुल्कतर्फ रु १० करोड ५६ लाख र अन्य शीर्षकमा रु एक अर्ब २१ करोड ६६ लाख रहेको छ ।
चालु आर्थिक वर्षका लागि कार्यालयको वार्षिक राजस्व सङ्कलन लक्ष्य रु नौ अर्ब ७१ करोड १५ लाख तोकिएको छ । हालसम्मको सङ्कलन लक्ष्यको ५५.६७ प्रतिशत हो । यद्यपि, चालु आर्थिक वर्षका कुनै पनि महिनामा कार्यालयले तोकिएको मासिक लक्ष्य पूरा गर्न सकेको छैन । साउनमा रु ७१ करोड ६१ लाख लक्ष्य रहेकामा रु ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख लक्ष्य रहेकामा रु ५३ करोड ७० लाख, असोजमा रु ७६ करोड ७७ लाख लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख, र कात्तिकमा रु ८४ करोड ६७ लाख लक्ष्य रहेकामा रु ७२ करोड ५४ लाख मात्र सङ्कलन भएको छ ।
यसैगरी, मङ्सिरमा रु ७८ करोड ३३ लाख लक्ष्य रहेकामा रु ६८ करोड ९१ लाख, पुसमा रु ८१ करोड २५ लाख लक्ष्य रहेकामा रु ७४ करोड ६५ लाख, माघमा रु ७६ करोड ९ लाख लक्ष्य रहेकामा रु ६८ करोड ८२ लाख, र फागुनमा रु ७७ करोड १४ लाख लक्ष्य रहेकामा रु ७६ करोड ४४ लाख मात्र राजस्व सङ्कलन भएको जनाएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा पनि कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको थिएन। सो वर्ष रु ११ अर्ब १६ करोड २६ लाख लक्ष्य राखिएकोमा रु आठ अर्ब ६६ करोड ९८ लाख मात्र सङ्कलन भएको थियो, जुन कुल लक्ष्यको ७७.६७ प्रतिशत हो ।








