२०८२ चैत १२ , बिहीबार

रिपोर्टको पर्खाइमा अड्किएको इनिसा केस



सुर्खेत । १६ वर्षीया इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान अझै टुंगोमा पुग्न नसक्दा चासो र चिन्ता बढ्दै गएको छ । घटना भएको १८ दिन बितिसक्दा पनि स्पष्ट निष्कर्ष नआएपछि कर्णाली प्रदेशसभामै यस विषयमा प्रश्न उठाइएको छ । बिहीबारदेखि सुरु भएको कर्णाली प्रदेशसभा बैठकमा बोल्ने अधिकांश प्रदेश सांसदहरूले अनुसन्धानमा ढिलाइ भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सांसदहरूले घटनाको निष्पक्ष, छिटो र पारदर्शी छानबिन हुनुपर्ने माग गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । केही प्रदेश सांसदहरूले यस्ता घटनालाई रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको पनि औंल्याएका छन् ।

यता, पीडित परिवारले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएको छ । इनिसाका बुबाले घटनालाई गम्भीर अपराधको रूपमा लिँदै निष्पक्ष अनुसन्धान नभएसम्म आफूहरू पछि नहट्ने बताएका छन् । परिवारले दोषीलाई कडा कारबाही हुनुपर्ने माग दोहोर्याएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान विभिन्न चरणमा जारी छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), डिजिटल विश्लेषण, पोलिग्राफ परीक्षण तथा अन्य वैज्ञानिक विधिबाट अनुसन्धान भइरहेको जनाइएको छ । यद्यपि ती सबैको अन्तिम रिपोर्ट आउन बाँकी रहेकोले निष्कर्षमा पुग्न ढिलाइ भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृतकको मोबाइल डाटा विश्लेषण, विधि विज्ञान प्रयोगशालाको रिपोर्ट तथा अन्य प्राविधिक प्रतिवेदन प्राप्त भएपछि मात्र घटनाको पूर्ण चित्र स्पष्ट हुने अपेक्षा गरिएको छ । हालसम्मको प्रारम्भिक अनुसन्धानले सामूहिक बलात्कार भएको ठोस प्रमाण नदेखिएको प्रहरीको भनाइ छ ।

तर परिवार, आफन्त र अधिकारकर्मीहरूले भने सामूहिक संलग्नता भएको आशंका व्यक्त गर्दै अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाइरहेका छन् ।
पोस्टमार्टम रिपोर्टमा संवेदनशील अङ्गमा गम्भीर चोट र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ । यद्यपि अन्तिम निष्कर्षका लागि थप परीक्षण रिपोर्टहरू आउन बाँकी छन् । प्रहरीले अनुसन्धानलाई निष्कर्षमा पु¥याउन बाँकी सबै रिपोर्टहरू एकीकृत गरेर अन्तिम प्रतिवेदन तयार गर्ने जनाएको छ । घटनाले राष्ट्रिय स्तरमै ध्यान तानेको अवस्थामा छिटो, पारदर्शी र विश्वसनीय अनुसन्धानको माग झन् तीव्र बन्दै गएको छ ।

प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार