बाजुरा । जिल्लाको जडाङ्गा खोलामा रहेको बेलिब्रिज पुल अब बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा सारिने भएको छ । सरोकारवाला निकाय र स्थानीयवासीबीच सहमति भएपछि पुल स्थानान्तरण गर्ने निर्णय भएको हो । बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले गत मंसिर ४ गते दानसाँघु खोलामा पुलको शिलान्यास गरका छन् ।

नगरपालिकाका अनुसार प्रयोगविहीन अवस्थामा रहेको जडाङ्गास्थित पुललाई पूर्वोत्तर क्षेत्रका चारवटा स्थानीय तहका बासिन्दाको आवतजावत सहज बनाउन स्थानान्तरण गर्न लागिएको हो । नगरप्रमुख जनकबहादुर बोहराले पुललाई दानसाँघुमा सार्ने पहल केही समय विवादमा रहेको भए पनि सहमति र आर्थिक सहयोगपछि काम अघि बढेको जानकारी दिए ।
सडक डिभिजन कार्यालय साँफेबगरको सहयोगमा करिब २ करोड २२ लाख रुपियाँ लागतमा जडाङ्गाबाट दानसाँघु खोलामा स्थानान्तरणको कार्य भइरहेको छ । पछिल्ला पाँच वर्षदेखि जडाङ्गा खोलामा अलपत्र परेको बेलिब्रिज सुरुमा उपयोगी भए पनि नजिकै पक्की पुल निर्माण भएपछि प्रयोगविहीन बनेको थियो । साँफे–मार्तडी सडकखण्डअन्तर्गत साँफेबगरदेखि मार्तडी करिब ५७ किलोमिटर, मार्तडीदेखि कोल्टी ४२ किलोमिटर र कोल्टीदेखि धुलाचौर करिब १६ किलोमिटर सडक रहेको छ ।








