२०८३ जेठ १२ , मंगलबार

कालिमाटी गाउँपालिकामा पालिका कप खेलकुद प्रतियोगिता भव्य रूपमा सुरु



दिलिप ढकाल सल्यान ।  सल्यानको कालिमाटी गाउँपालिका–३ स्थित श्री शारदा जनकल्याण माध्यमिक विद्यालयमा पालिका कप खेलकुद प्रतियोगिता सुरु भएको छ। पालिका अध्यक्ष दान बहादुर खत्रीले ब्यानर पढेर पालेका कपको उद्घाटन गर्नु भएको हो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुरु भएको उक्त प्रतियोगिता २०८२ चैत १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत जयराम घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष दानबहादुर खत्री केसीको उपस्थिति रहेको थियो। साथै उपाध्यक्ष सनशीलता वली डिसी, स्वास्थ्य शाखा प्रमुख गोरख थापा, सात वटै वडाका वडाध्यक्षहरु,वडा सदस्य एवं कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरू लगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवातमा वडा नम्बर ३ का पञ्चेबाजा समूहले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै उद्घाटनलाई अझ आकर्षक बनाएको थियो । स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख गोरख बहादुर थापाले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन दीप बहादुर वलीले गर्नुभएको थियो। यस वर्षको पालिका कपमा तीन प्रमुख खेलहरू क्रिकेट, भलिबल र फुटबल समावेश गरिएको छ । क्रिकेट तर्फ ७ टोली, भलिबल तर्फ १३ टोली र फुटबलतर्फ ९ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष दानबहादुर खत्री केसीले आफ्नो कार्यकालदेखि खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आएको बताउँदै यस वर्ष खेलाडीहरूको माग अनुसार क्रिकेट प्रतियोगिता पनि थप गरिएको जानकारी दिनुभयो। उहाँले पालिका कपले स्थानीय खेलाडीहरूलाई माथिल्लो स्तरसम्म पुग्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी उपाध्यक्ष सनशीलता वली डिसीले खेलमा जित–हार सामान्य प्रक्रिया भएको उल्लेख गर्दै सबै खेलाडीहरूलाई खेल भावना कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो। उहाँले प्रतियोगितालाई सिकाइ र अवसरको रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विभिन्न वडा अध्यक्षहरूको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष टोप बहादुर कार्की,नेकपा एमालेका वीर बहादुर वली,रास्वपाका बिमल केसी,नेपालि कम्युनिस्ट पार्टीका सालिकराम भट्टाराई, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। औपचारिक कार्यक्रमको समापन निमित्त प्रमुख प्रशासकीय अधिकृत जयराम घर्तीले गर्नुभएको थियो। प्रतियोगिता अवधिभर विभिन्न खेलहरू रोमाञ्चक ढंगले सञ्चालन हुने अपेक्षा गरिएको छ। आज भुतावल भालिवल र क्रिकेट तर्फ एकरएक वटा खेलहरु भएका छन्। बाँकी खेलहरु विहानै देखि सुरु हुने आयोजकले बताएको छ।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार