सुर्खेत । चिङ्गाड गाउँपालिकामा केन्द्र विवाद लम्बिँदै जाँदा त्यसको प्रत्यक्ष असर कर्मचारी र सेवा प्रवाहमा परेको छ । गाउँपालिकाको कार्यालय एक स्थानमा सञ्चालन भइरहे पनि कर्मचारीले हाजिर गर्न अर्को स्थान पुग्नुपर्ने अवस्था सिर्जना भएपछि दैनिक कामकाज प्रभावित बन्न थालेको छ । हाल गाउँपालिकाको सेवा प्रवाह वडा नं. पाँचको अवलचिङबाट भइरहेको छ । तर कर्मचारीले हाजिर गर्न भने वडा नं. दुईको राजीकुनास्थित गाउँपालिकाको सभा हल पुग्नुपर्ने बाध्यता छ । यसका लागि उनीहरूले हरेक दिन करिब छ किलोमिटर ओरालो यात्रा गरेर हाजिर गर्नुपर्ने र त्यसपछि पुनः उकालो चढेर कार्यालय फर्किनुपर्ने अवस्था रहेको छ ।
गाउँपालिकामा कार्यरत करिब ४५ जना कर्मचारीले दैनिक रूपमा यही समस्या झेलिरहेका छन् । काम गर्ने ठाउँ एकातिर र हाजिर गर्ने स्थान अर्कोतिर हुँदा समय, श्रम र कार्यक्षमतामा प्रत्यक्ष असर परेको कर्मचारीहरू बताउँछन् । स्वास्थ्य शाखा प्रमुख पवित्रा विश्वकर्माले हरेक बिहान पहिले राजीकुनामा पुगेर हाजिर गर्नुपर्ने र त्यसपछि अवलचिङस्थित कार्यालयमा आएर नियमित काम गर्नुपर्ने बताए । उनका अनुसार हाजिर गरेर फर्किन मात्रै आधा घण्टादेखि एक घण्टासम्म समय खर्च हुने गरेको छ । सवारीसाधन भएका कर्मचारीलाई केही सहज भए पनि साधन नहुने कर्मचारीले अरूसँग लिफ्ट मागेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
यो समस्या गाउँपालिका केन्द्रको विवादका कारण उत्पन्न भएको हो । चिङ्गाड गाउँपालिकामा छ वटा वडा रहेका छन् । पहिलो कार्यकालमै वडा नं. एक देखी चार र छका जनप्रतिनिधिले गाउँसभाबाट वडा नं. दुुईको ढाँडखेतलाई स्थायी केन्द्र बनाउने निर्णय गरेका थिए । तर वडा नं. पाँचले उक्त निर्णय स्वीकार नगरेपछि विवाद चर्किँदै गएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार केन्द्रसम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । वडा नं. तिन मटेलाका महेश जिसीले पहिलो निर्णयपछि केन्द्र निर्माणका लागि ३५ लाख रुपैयाँ खर्च गरेर १२ रोपनी जग्गा खरिद गरिएको जानकारी दिए ।
उनका अनुसार राजीकुना सबै वडाबाट पहुँचयोग्य स्थानमा पर्ने, टाँटी बजार नजिक रहेको तथा बैंकलगायत सेवा उपलब्ध भएकाले केन्द्रका लागि उपयुक्त स्थान मानिएको थियो । तर वडा नं. पाँचको असहमतिपछि विवाद समाधान हुन सकेको छैन । हाल वडा नं. दुईको राजीकुनामा गाउँपालिकाको सभा हल निर्माण भइसकेको छ । गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले आफू अहिले त्यहीँबाट काम गरिरहेको बताए । स्थानीयका अनुसार अध्यक्ष जिसी अवलचिङस्थित हालको केन्द्रमा गएको करिब एक वर्षभन्दा बढी भइसकेको छ ।
अध्यक्ष जिसीका अनुसार छ वटा वडामध्ये पाँच वटाले राजीकुनालाई केन्द्र बनाउने सहमति जनाएका थिए । केन्द्र सार्ने तयारी भइरहेका बेला गत महिना वडा नं. पाँचका स्थानीयले अवरोध गरेपछि पुनः विवाद उत्पन्न भएको हो । विवाद चर्किएपछि अहिले अस्थायी रूपमा वडा नं. पाँचकै ढाँटखेतमा केन्द्र बनाउने सहमति भएको छ । तर प्रशासनिक संरचना र सभा हल राजीकुनामै रहेकाले कर्मचारीलाई दुई स्थानबीच आवतजावत गर्नुपर्ने बाध्यता कायम रहेको अध्यक्ष जिसीले बताए ।
यता वडा नं. पाँच अवलचिङका स्थानीय तथा राजनीतिकर्मी जितबहादुर रानाले विगतदेखि नै पालिका केन्द्र अवलचिङमै रहेकाले अन्यत्र सार्न नहुने धारणा राखे । उनले अस्पताल निर्माण हुने स्थानसम्म केन्द्र सार्ने विषयमा भने छलफल गर्न सकिने बताए । लामो समयदेखि केन्द्र विवाद समाधान हुन नसक्दा गाउँपालिकाको प्रशासनिक कामकाजमा असहजता थपिएको छ भने कर्मचारी र सेवाग्राही दुवै प्रभावित भएका छन् । स्थानीयवासीले छिटो समाधान निकालेर स्थायी रूपमा केन्द्र निर्धारण गर्न सम्बन्धित पक्षसँग माग गरेका छन् ।









