२०८३ जेठ ८ , शुक्रबार

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा औषधी संकट



जुम्ला ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधी तथा उपचारका लागि आवश्यक सामग्रीको अभाव भएपछि बिरामीले उपचारमा गम्भीर समस्या भोग्नुपरेको छ । अस्पतालमा आवश्यक औषधी र उपकरण नहुँदा उपचारका लागि आएका बिरामी अन्यत्र जान बाध्य बनेका छन् । प्रतिष्ठान आसपास रहेका मेडिकल पसलमा समेत चिकित्सकले सिफारिस गरेका औषधी सहज रूपमा उपलब्ध नहुँदा बिरामीले महँगो खर्च गरेर अन्य शहरका अस्पताल धाउनुपर्ने अवस्था सिर्जना भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामी अहिले सबैभन्दा बढी प्रभावित बनेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली क्षेत्रको प्रमुख सरकारी स्वास्थ्य संस्था मानिन्छ । दैनिक सयौँ बिरामी उपचारका लागि आउने यस अस्पतालमा पछिल्लो समय औषधी, शल्यक्रिया सामग्री तथा अन्य स्वास्थ्य उपकरणको अभाव देखिएको हो । गुठीचौर गाउँपालिका पाँच देपालागाउँकी माया नेपालीले प्रतिष्ठानमा एपेन्डिसाइटको उपचार गराउन खाेजेकी थिइन् । तर अपरेसनका लागि आवश्यक सामग्री नभएको जानकारी पाएपछि उनी  नेपालगन्जस्थित भेरी अस्पताल जान बाध्य भइन् ।

“यहाँ उपचार सम्भव छैन भनियो, त्यसपछि थप खर्च गरेर नेपालगन्ज जानुपर्‍यो,” उनले गुनासो गरिन् । प्रतिष्ठानका प्रशासन प्रमुख द्वन्द्वबहादुर शाहीका अनुसार अघिल्लो वर्ष खरिद गरिएका औषधी सकिनु र चालु आर्थिक वर्षका लागि नयाँ खरिद प्रक्रिया समयमै अघि बढ्न नसक्दा समस्या उत्पन्न भएको हो । उनका अनुसार झन्डै १६ करोड रुपैयाँ बराबरको औषधी तथा सामग्री खरिदसम्बन्धी टेन्डर प्रक्रिया प्रभावित भएपछि अस्पतालमा अभाव चुलिएको हो ।

“कोटेसन रद्द भएपछि खरिद प्रक्रिया प्रभावित भयो । त्यसकै कारण अहिले औषधी तथा आवश्यक सामग्री अभाव भएको अवस्था छ,” प्रशासन प्रमुख शाहीले बताए । प्रतिष्ठानले औषधी मात्रै नभई अस्पताल सञ्चालनका अन्य पक्षमा पनि आर्थिक समस्या देखिएको जनाएको छ । आवश्यक सामग्री खरिद गर्न र अस्पतालमा कार्यरत कर्मचारीलाई नियमित पारिश्रमिक उपलब्ध गराउन समेत कठिनाइ भइरहेको अस्पताल प्रशासनको भनाइ छ । औषधी र उपकरण अभावका कारण विशेषगरी शल्यक्रिया सेवा प्रभावित बनेको छ ।

सामान्य उपचारका लागि आउने बिरामीले पनि बाहिरबाट औषधी खरिद गर्नुपरेको गुनासो गरेका छन् । आर्थिक अवस्था कमजोर भएका बिरामीहरू उपचार खर्च धान्न नसकेर थप समस्यामा परेका छन् । स्थानीयले कर्णाली जस्तो दुर्गम क्षेत्रको मुख्य अस्पतालमै यस्तो समस्या देखिनु दुःखद भएको बताएका छन् । उनीहरूले तत्काल औषधी आपूर्ति र खरिद प्रक्रिया टुंग्याएर सेवा नियमित बनाउन सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेठ ८ गते शुक्रबार