२०८३ जेठ ८ , शुक्रबार

सल्यानमा पिपिआर खोप अभियान



सल्यान । भेडाबाख्रामा फैलिने संक्रामक पिपिआर रोग नियन्त्रणका लागि निःशुल्क खोप अभियान सुरु गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जिल्लाका १० वटै स्थानीय तहमा अभियान सञ्चालन गरेको जनाएको छ । पशुचौपायामा संक्रामक रोगको जोखिम बढ्दै गएपछि रोग नियन्त्रण तथा किसानको आर्थिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । अभियानअन्तर्गत जिल्लाभर करिब दुई लाख ५० हजार भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप लगाइनेछ ।

खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लाभर ४५ जना भ्याक्सिनेटर परिचालन गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी वीरेन्द्र केसीले जानकारी दिए । उनका अनुसार पिपिआर अत्यन्त संक्रामक रोग भएकाले समयमै खोप लगाउन सके पशुधनको क्षति कम गर्न सकिनेछ । कार्यालयले भेडाबाख्रासँगै गाईभैँसीमा देखिने लम्पी स्किन र खोरेत रोग नियन्त्रणका लागि पनि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । पछिल्लो समय जिल्लाका केही क्षेत्रमा पशुचौपायामा विभिन्न रोगको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् ।

सूचना अधिकारी केसीले अभियानका लागि आवश्यक भ्याक्सिन, प्राविधिक जनशक्ति तथा अन्य व्यवस्थापन पूरा गरिएको बताए । उनी किसानलाई आफ्ना पशुचौपायालाई अनिवार्य रूपमा खोप लगाउन र रोगका लक्षण देखिए तत्काल नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन आग्रह गरे । पिपिआर रोग विशेषगरी भेडाबाख्रामा देखिने खतरनाक संक्रामक रोग हो । रोग लागेपछि ज्वरो आउने, नाक तथा आँखाबाट पानी बग्ने, झाडापखाला लाग्ने, घाँस खान छाड्ने र पशु कमजोर हुने समस्या देखिने पशु प्राविधिकहरूले बताएका छन् । समयमै खोप तथा उपचार नहुँदा पशु मर्ने जोखिम उच्च रहने जनाइएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ८ गते शुक्रबार