२०८३ जेठ ८ , शुक्रबार

कर्णालीलाई विश्वकै आकर्षक पर्यटन गन्तव्य बनाउन सरकार प्रतिबद्ध : मन्त्री अधिकारी



सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन् । शुक्रबारबाट जारी कर्णाली पर्यटन महोत्सवको उद्घाटन सत्रमा बोल्दै मन्त्री अधिकारीले आगामी बजेटमार्फत पनि पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई थप सशक्त बनाइने दावी गरे । उनले कर्णालीलाई पर्यटन क्षेत्रमार्फत समृद्ध बनाउने सरकारको स्पष्ट योजना रहेको उल्लेख गरे । उनले गैरआवासीय नेपाली संघका प्रतिनिधिको उपस्थितिलाई महत्वपूर्ण अवसरको रूपमा व्याख्या गर्दै विश्वभर रहेका नेपालीहरूलाई आफ्नो ज्ञान, सीप, प्रविधि, अनुभव र आर्थिक स्रोत कर्णालीको विकाससँग जोड्न आग्रह गरे ।

‘गैरआवासीय नेपालीहरूले कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ,’ उनले भने । मन्त्री अधिकारीले कर्णाली नेपालको मौलिक सभ्यता, संस्कृति, प्रकृति र इतिहासको जीवित संग्रहालय भएको बताए । रारा ताल, शे–फोक्सुण्डो, सिंजा उपत्यका, उच्च डोल्पा, कर्णाली नदी, हिमाली पदमार्ग तथा धार्मिक एवं सांस्कृतिक सम्पदाले कर्णालीलाई विश्वकै आकर्षक पर्यटन गन्तव्य बन्ने असाधारण सम्भावना दिएको उनको भनाइ थियो ।

उनले नेपाली भाषाको उद्गमस्थलका रूपमा चिनिने सिजा क्षेत्र नेपालको राष्ट्रिय पहिचानसँग जोडिएको उल्लेख गर्दै शे–फोक्सुण्डो र उच्च डोल्पाको प्राकृतिक सौन्दर्यले विश्व पर्यटन बजारमा नेपाललाई अलग पहिचान दिलाउन सक्ने बताए । साथै, हुम्लाको सिमकोट क्षेत्र कैलाश मानसरोवर यात्राको महत्वपूर्ण प्रवेशद्वार भएको उल्लेख गर्दै कर्णाली पर्यटनसँगै संस्कृति, इतिहास र आध्यात्मिकताको केन्द्रका रूपमा विकास भइरहेको धारणा राखे ।

कार्यक्रममा भारतबाट पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आएका पत्रकार तथा पर्यटन व्यवसायीहरूलाई स्वागत गर्दै उनले कर्णालीको पर्यटन सम्भावना भारतमा समेत प्रचारप्रसार गरिदिन आग्रह गरे । ‘यहाँको बसाइ सहज र स्मरणीय होस्, फर्किएपछि ‘कर्णाली राम्रो छ, जानुपर्छ’ भनेर प्रचार गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने । उनले नेपाल–भारत सम्बन्धलाई पर्यटनमार्फत अझ प्रगाढ र मित्रवत बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८३ जेठ ८ गते शुक्रबार