सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यस महोत्सवको उद्देश्य कर्णाली प्रदेशको पर्यटन विकास, प्रवर्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु रहेको आयोजकले जनाएको छ । महोत्सवमा कर्णालीका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटन सम्भावनाहरूलाई एकीकृत रूपमा प्रस्तुत गर्दै लगानी आकर्षण र पर्यटन प्रवर्धन गर्ने उद्देश्य राखिएको छ । विशेषगरी कर्णालीलाई नेपालको उदाउँदो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने विषयमा छलफल र प्रस्तुति भइरहेको छ ।
कार्यक्रममा छिमेकी मुलुक भारतका उत्तरप्रदेश, उत्तराखण्ड र दिल्लीबाट आएका पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित बायर–सेलर, सञ्चारकर्मी, ट्राभल भ्लगर, ट्रेड प्रोफेशनल तथा पर्यटन क्षेत्रका विज्ञहरूको उल्लेख्य सहभागिता रहेको छ । उनीहरूले कर्णालीको पर्यटन सम्भावनाबारे प्रत्यक्ष जानकारी लिँदै लगानी र सहकार्यका अवसर खोज्ने बताएका छन् । त्यसैगरी, नेपालभित्रैबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटनकर्मी, व्यवसायी तथा पर्यटनसँग सम्बन्धित विभिन्न संघ–संस्था र सरोकारवालाको पनि सहभागिता रहेको छ ।

महोत्सवले आन्तरिक र बाह्य पर्यटन सञ्जाल विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको हो । दैलेखको दुल्लू नगरपालिका र गुराँस गाउँपालिकाको सहआयोजनामा तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा पहिलो पटक यो महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा कर्णालीका सबै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई विशेष रूपमा प्रस्तुत गरिएको छ । सुर्खेतका काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै, दैलेखको पञ्चकोशी क्षेत्र, जुम्लाको सिञ्जा सभ्यता, मुगुको राराताल, डोल्पाको शे–फोक्सुन्डो ताल, हुम्लाको लिमी उपत्यका तथा मानसरोवर क्षेत्र, कालिकोटका प्राकृतिक गन्तव्य, जाजरकोटका सांस्कृतिक तथा धार्मिक स्थल, रुकुम (पश्चिम) र सल्यानका पर्यटकीय क्षेत्रहरूलाई पनि महोत्सवमा समेटिएको छ ।
आयोजकका अनुसार यी सबै गन्तव्यलाई जोडेर कर्णालीलाई एकीकृत पर्यटन प्याकेजका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । विशेषगरी साहसिक पर्यटन, धार्मिक यात्रा, सांस्कृतिक अनुभव र प्राकृतिक सौन्दर्यलाई एकै ठाउँमा जोडेर कर्णालीलाई नयाँ पर्यटन ब्रान्डका रूपमा स्थापित गर्ने योजना रहेको छ । महोत्सवमा विभिन्न सत्रहरूमा पर्यटन प्रवर्धन, लगानीका अवसर, पूर्वाधार विकास, होमस्टे प्रवर्धन तथा निजी क्षेत्रको सहभागिताबारे छलफल भइरहेको छ । सहभागीहरूले कर्णालीमा सडक, आवास, स्वास्थ्य सेवा र प्रचार–प्रसारको विस्तार आवश्यक रहेको सुझाव दिएका छन् ।
पर्यटन व्यवसायीहरूले राराताल, शे–फोक्सुन्डो, लिमी उपत्यका, सिञ्जा सभ्यता तथा पञ्चकोशी क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा ब्रान्डिङ गर्न सके कर्णाली विश्वकै आकर्षक गन्तव्य बन्न सक्ने धारणा राखेका छन् ।महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ र यस अवधिमा सांस्कृतिक प्रस्तुति, व्यापारिक छलफल, पर्यटन प्रदर्शनी तथा लगानी आकर्षणका विभिन्न कार्यक्रमहरू सञ्चालन हुने आयोजकले जनाएको छ ।








