२०८३ जेठ १३ , बुधबार

सुर्खेतमा मानव अधिकार आयोगको वार्षिकोत्सव सम्पन्न



सुर्खेत ।  राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयले आयोगको २६औँ वार्षिकोत्सवको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । २०८३ जेठ १३ गते सम्पन्न उक्त कार्यक्रम आयोगको कर्णाली प्रदेश कार्यालय प्रमुख रमेश कुमार थापाको अध्यक्षतामा भएको हो । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी रहेका थिए ।

कार्यक्रममा कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्री, प्रदेश सभाका सचिव डा. अर्जुन बहादुर खड्का, ऊर्जा विकास मन्त्रालयका सचिव डा. योगेन्द्र मिश्र, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटा, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव चेतन कुमार तिमिल्सेना, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख ठाकुर प्रसाद पोखरेल लगायत विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेका थिए ।

त्यसैगरी मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकाल, गैरसरकारी संस्था महासंघका अध्यक्ष घनश्याम केसी, कानुन व्यवसायी, मानव अधिकारकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले आयोगले हालसम्म गरेका कामको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरूले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए  ।

आयोगका कर्णाली प्रदेश प्रमुख रमेश कुमार थापाले चालु आर्थिक वर्षमा सम्पन्न भएका कार्यहरूबारे जानकारी गराएका थिए । मानव अधिकार अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको निष्कर्ष निकाल्दै सहभागीहरूले आयोगको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए

प्रकाशित मिति : २०८३ जेठ १३ गते बुधबार