२०८३ जेठ १४ , बिहीबार

हावाहुरीले विद्यालय क्षति, चौरमा पढ्छन् विद्यार्थी



बाजुरा  । जिल्लकाे हिमाली गाउँपालिका तिन बौडीस्थित गङ्गा आधारभूत विद्यालयको भवनमा हावाहुरीले क्षति पुर्‍याएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । तीव्र हावाहुरीका कारण विद्यालय भवनको छाना उड्दा अहिले विद्यार्थी खुला चौरमा बसेर अध्ययन गर्न बाध्य भएका छन् । गत जेठ ११ गते दिउँसो अचानक आएको हावाहुरीले गङ्गा आधारभूत विद्यालयसहित आसपासका दुई विद्यालयका भवनमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । विद्यालयका जस्तापाताले छाएका भवनको छाना पूर्ण रूपमा उडेपछि नियमित कक्षा सञ्चालन गर्न समस्या भएको हो ।

विद्यालय प्रशासनका अनुसार अहिले विद्यार्थीलाई खुला स्थानमा राखेर पढाउनुपर्ने अवस्था सिर्जना भएको छ । मौसम प्रतिकूल हुँदा पठनपाठन सञ्चालन गर्न झन् कठिन हुने गरेको शिक्षकहरूले बताएका छन् । विद्यालयका प्रधानाध्यापक वाल्मीकि पाण्डेले हावाहुरीले विद्यालयका दुईवटै भवनमा ठूलो क्षति पुर्‍याएको जानकारी दिए । उनका अनुसार विद्यालय आर्थिक रूपमा कमजोर अवस्थामा रहेकाले तत्काल मर्मत सम्भार गर्न कठिन भएको छ ।  “विद्यालय दुर्गम क्षेत्रमा छ, स्रोतसाधन पनि सीमित छन् । अहिले आफ्नै प्रयासमा छाना मर्मत गर्न सक्ने अवस्था छैन,” उनले भने ।

छाना मर्मत नहुँदा विद्यार्थीको नियमित अध्ययन प्रभावित हुनुका साथै वर्षात्को समयमा थप समस्या हुने चिन्ता विद्यालयले जनाएको छ । प्रधानाध्यापक पाण्डेले सम्बन्धित निकायबाट तत्काल सहयोग भएमा पठनपाठन सहज रूपमा सञ्चालन गर्न सकिने बताए । स्थानीयवासीले पनि विद्यालयको क्षति तत्काल मर्मत गर्न माग गरेका छन् । दुर्गम क्षेत्रका विद्यालयमा प्राकृतिक विपद्को असरले शिक्षण गतिविधि पटक–पटक प्रभावित हुने गरेको भन्दै दीर्घकालीन संरचनागत व्यवस्थापन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार