२०८३ जेठ १४ , बिहीबार

जुम्लामा विपद् अभ्यास कार्यक्रम



जुम्ला ।  मनसुन नजिकिँदै जाँदा बाढी, पहिरो र डुबानजस्ता विपद्को जोखिम न्यूनीकरणका लागि जुम्लामा सुरक्षा निकाय तथा सरोकारवालाले संयुक्त विपद् प्रतिकार्य अभ्यास गरेका छन् । चन्दननाथ नगरपालिका एक दासाँघु क्षेत्रमा नेपाली सेनाको देविदत्त गणको समन्वयमा ‘मनसुन छ नामक अभ्यास सञ्चालन गरिएको हो । प्राकृतिक विपद्को कृत्रिम अवस्था सिर्जना गरी उद्धारका विभिन्न विधिको प्रयोगात्मक अभ्यास गरिएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्वास्थ्यकर्मी, विद्यार्थी, स्थानीय नागरिक तथा सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

अभ्यासका क्रममा भीर तथा खोचमा फसेका व्यक्तिलाई डोरीको सहायताले उद्धार गर्ने, नदी तथा डुबान क्षेत्रमा खोज तथा उद्धार गर्ने, बाढीमा बगेकालाई सुरक्षित स्थानमा ल्याउने र जोखिमयुक्त क्षेत्रमा रिभर क्रसिङ प्रविधि प्रयोग गर्ने अभ्यास गरिएको थियो । उद्धार टोलीले विपद्का समयमा प्रयोग गरिने विभिन्न उपकरण र प्रविधिको प्रदर्शनसमेत गरेको थियो । देविदत्त गणका गणपति प्रमुख सेनानी धिरज थापाले जुम्ला प्राकृतिक विपद्को दृष्टिले संवेदनशील जिल्ला भएकाले पूर्वतयारीलाई प्राथमिकता दिन आवश्यक रहेको बताए ।

उनले समुदायस्तरमै उद्धार सम्बन्धी आधारभूत ज्ञान र सीप विकास गर्नुपर्ने धारणा राखे । चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले विपद्का बेला सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण हुने भन्दै स्थानीय तहले आवश्यक सामग्री र बजेट व्यवस्थापन गरिरहेको जानकारी दिए । उपप्रमुख रामदेवी खड्काले बाढी, पहिरो र डुबानका घटना वर्षेनी दोहोरिने भएकाले यस्ता अभ्यासले नागरिकलाई सचेत र आत्मविश्वासी बनाउने बताए ।

२४ नम्बर बाहिनी अड्डाका बाहिनीपति अर्जुन बस्नेतले विपद् आएपछि गरिने उद्धारभन्दा पूर्वतयारी अझ प्रभावकारी हुने उल्लेख गरे । उनले भौतिक संरचना अवरुद्ध हुने अवस्थामा वैकल्पिक उद्धार सीप र तयारी आवश्यक पर्ने बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाकी सुपर परियोजना अधिकृत ईश्वरा सुवेदीले नागरिकको जीवनरक्षाका लागि यस्ता पूर्वअभ्यास उपयोगी हुने बताउँदै विपद् व्यवस्थापनमा सामूहिक समन्वय आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार